पोखरा, फागुण १३। नेपालको बीमा उद्योगमै पहिलो पटक सिटिजन लाईफ इन्स्योरेन्सले “सिटिजन लिडर डिस्कोर्स” नामक प्यानल छलफल कार्यक्रम आयोजना गरेको छ। फागुन ६ गते पोखरा ग्राण्डि होटल ]मा सम्पन्न कार्यक्रममा करिब ४० मिनेट अवधिको विशेष प्यानल सत्र सञ्चालन गरिएको थियो।

कार्यक्रमको सहजीकरण कम्पनीका तालिम विभाग प्रमुख कुबेर पाठकले गरेका थिए। प्यानलमा ईश्वरी प्रसाद बराल, टुक बहादुर राना, सुरेश बाबु शर्मा, राजु श्रेष्ठ र लक्ष्मी लामिछाने सहभागी थिए।

ADVERTISEMENT

छलफल सफलता, करिअर विकास, अभिकर्ता भर्ना तथा बीमालेख निरन्तरता जस्ता विषयमा केन्द्रित थियो। कार्यक्रममा टुक बहादुर रानाले पछिल्लो समय बढ्दै गएको व्यतित बीमालेखलाई एजेन्सी व्यवसायको साझा चुनौतीका रूपमा प्रस्तुत गर्दै केवल बिक्रीमा सीमित नभई बीमालेख निरन्तरतामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। उनले तालिमपछिको अनुगमन प्रणाली, स्वअध्ययन संस्कार, ग्राहक सेवा पात्रो तथा नविकरण सम्झाउने संयन्त्र जस्ता व्यावहारिक उपाय सुझाउँदै बिक्रीभन्दा दीर्घकालीन सम्बन्ध निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए।

ईश्वरी प्रसाद बरालले आफ्नो २१ वर्षको अनुभव साझा गर्दै बीमालाई केवल पेशा नभई सामाजिक जिम्मेवारीका रूपमा बुझ्न समय लाग्ने बताए। ग्रामीण क्षेत्रमा सम्बन्धमा आधारित विश्वास, बढ्दो वित्तीय सचेतना र अभिकर्ताको प्रत्यक्ष पहुँचका कारण बीमा व्यवसाय अझ प्रभावकारी हुने उनको भनाइ थियो।

ADVERTISEMENT

लक्ष्मी लामिछानेले बीमालाई पूर्ण रूपमा विश्वासमा आधारित पेशा भएको उल्लेख गर्दै महिलाहरू यस क्षेत्रमा सफल हुन सक्ने धारणा राखिन्। महिलामा रहेको जिम्मेवारीबोध, संवेदनशीलता र परिवारप्रतिको सोचले परिवार केन्द्रित सुरक्षा सन्देश प्रभावकारी रूपमा प्रवाह गर्न सकिने उनले बताइन्।

सुरेश बाबु शर्माले नेपालमा अझै ठूलो जनसंख्या बीमाको दायराबाहिर रहेको उल्लेख गर्दै बीमाको पहुँच विस्तारमा अभिकर्ताको भूमिका महत्वपूर्ण रहेको बताए। अभिकर्ता केवल बिक्रीकर्ता नभई वित्तीय शिक्षादाता, जोखिम परामर्शदाता तथा परिवार सुरक्षाकर्ताका रूपमा प्रस्तुत हुनुपर्ने उनले बताए। उनले “हरेक घरमा बीमा, हरेक परिवारमा सुरक्षा” लाई साझा अभियान बनाउनुपर्ने धारणा व्यक्त गरे।

राजु श्रेष्ठले बदलिँदो सामाजिक परिवेशमा अभिकर्ताको भूमिकामा रूपान्तरण आवश्यक रहेको बताए। डिजिटल र सचेत ग्राहकको युगमा अब केवल बीमालेख बिक्री गर्ने होइन, व्यावसायिक वित्तीय परामर्शदाताका रूपमा अभिकर्ता विकास हुनुपर्ने उनले उल्लेख गरे।

कार्यक्रम प्रभावकारी, प्रेरणादायी र सहभागीमुखी बनेको आयोजकको भनाइ छ। छलफलमा उठाइएका विषयहरूले एजेन्सी व्यवसायसँग सम्बन्धित चुनौती, सुधारका सम्भावित क्षेत्र तथा दीर्घकालीन रणनीतिबारे गहिरो संवादको वातावरण सिर्जना गरेको थियो।

कार्यक्रमपछि कम्पनीले आगामी दिनमा पनि यस्ता संवादमुखी तथा नेतृत्व विकास केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। बीमा क्षेत्रमा नयाँ अभ्यास र पेशागत सशक्तीकरणलाई प्राथमिकता दिँदै आएको कम्पनीले यस कार्यक्रमलाई दूरदर्शी कदमका रूपमा अघि सारेको जनाएको छ।

उक्त प्यानल डिस्कोर्सको पूर्ण भिडियो तल हेर्न सकिने  छ ।