काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ‘मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश’ जारी गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिबाट अध्यादेश जारी भएको पुष्टि गरेका छन्।

ADVERTISEMENT

अध्यादेश जारी हुनुअघि प्रधानमन्त्री सुशीला कार्कीले बुधबार राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेकी थिइन्। सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको छ।

सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता

प्रचलित कानुनअनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्न पाइँदैनथ्यो। यही कानुनी बाधा हटाउन सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेको हो।

ADVERTISEMENT

अब निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा पनि मतदाता नामावली संकलन गर्न सकिनेछ। प्रधानमन्त्री कार्कीले मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँग आमनिर्वाचनका लागि आवश्यक पर्ने कानुनका लागि सहयोग गर्ने बताएकी थिइन् ।

कुनै पनि अध्यादेश जारी भएको ६० दिनभित्र प्रतिनिधिसभाको बैठकबाट पास गर्नुपर्ने हुन्छ । यदि त्यसबेलासम्म प्रतिनिधिसभा बैठक आएन र पारित नभएमा खारेज हुने संवैधानिक व्यवस्था छ ।