काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावबाट विकसित वर्षा प्रणाली अहिले पूर्वी नेपालतर्फ केन्द्रित भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान पश्चिमबाट सक्रिय भएको प्रणाली साँझसम्म पूर्व पुगेको र हाल बाहिरिने क्रममा रहेको छ।
यद्यपि, पूर्वी क्षेत्रका विभिन्न स्थानमा अझै वर्षा भइरहेको छ। विभागले आज रातिदेखि उक्त प्रणाली पूर्ण रूपमा बाहिरिने जनाएको छ भने प्रिमनसुनका गतिविधि भने केही दिन कायम रहनेछन्।
पछिल्लो २४ घण्टामा देशका सातै प्रदेशमा वर्षा भएको छ भने चार जिल्लामा भारी वर्षा मापन गरिएको छ। सबैभन्दा बढी वर्षा सिन्धुलीमा ५९.४ मिलिमिटर भएको छ। त्यसैगरी झापामा ५४.८, इलाममा ५३.२ र सुनसरीमा करिब ४९ मिलिमिटर वर्षा भएको अभिलेख छ।
हाल पश्चिमका रुकुम र कास्कीमा हल्का वर्षा भइरहेको छ भने बागमती प्रदेशका केही स्थान र कोशी प्रदेशमा मध्यमदेखि भारी वर्षा जारी रहेको छ। पश्चिमदेखि मध्य क्षेत्रसम्म मौसम क्रमशः खुल्दै गएको छ र रातिबाट अझै सुधार हुने अपेक्षा गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दिनमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।







