काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आक्रामक व्यापार नीतिलाई निरन्तरता दिँदै चीन, भारत र युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने प्रस्ताव अघि सारेका छन्।
अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (यूएसटीआर) ले बुधबार सार्वजनिक गरेको प्रस्तावअनुसार चीनमाथि ४० प्रतिशतसम्म र भियतनाममाथि ३५ प्रतिशतसम्म भन्सार शुल्क लाग्न सक्नेछ।
अन्य व्यापारिक साझेदारका हकमा भने देशअनुसार २० देखि २५ प्रतिशतसम्मको दर प्रस्ताव गरिएको छ। यद्यपि, यसअघि भएका व्यापार सम्झौताका कारण केही देशका लागि प्रभावकारी शुल्कदर कम हुन सक्नेछ।
नयाँ शुल्कको प्रस्तावमा चीन, भारत, बंगलादेश, जापान, दक्षिण कोरिया, भियतनाम, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, कम्बोडिया, सिंगापुर, स्विट्जरल्यान्ड, ताइवान र युरोपेली संघ रहेका छन्।
अमेरिकी प्रशासनले ती देश तथा क्षेत्रले उत्पादन क्षमताभन्दा बढी वस्तु उत्पादन गर्ने, सरकारी अनुदानमार्फत उद्योगलाई संरक्षण गर्ने र सस्तो वस्तु विश्व बजारमा पठाएर अमेरिकी उद्योगलाई प्रतिस्पर्धामा कमजोर बनाउने गरेको आरोप लगाएको छ।
यो प्रस्ताव अमेरिकी व्यापार ऐनको धारा ३०१ अन्तर्गत गरिएको अनुसन्धानपछि आएको हो। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरले नयाँ शुल्कले अमेरिकी श्रमिक तथा उत्पादकलाई समान प्रतिस्पर्धाको वातावरण उपलब्ध गराउने दाबी गरेका छन्।
यसअघि अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले आपत्कालीन आर्थिक अधिकार ऐन (आईईईपीए) प्रयोग गरेर लगाएका व्यापक भन्सार शुल्कलाई राष्ट्रपतिले उक्त कानुनअन्तर्गत लगाउन नसक्ने ठहर गरेको थियो। त्यसपछि अमेरिकी प्रशासनले व्यापार ऐनका अन्य कानुनी प्रावधान प्रयोग गर्दै नयाँ शुल्क लगाउने प्रक्रिया अघि बढाएको हो।
नयाँ शुल्क तत्काल लागू हुने भने होइन। यसका लागि सार्वजनिक सुझाव तथा टिप्पणी संकलन र सुनुवाइको प्रक्रिया पूरा गर्नुपर्नेछ। अमेरिकी प्रशासनका अनुसार आगामी जनवरीपछि मात्रै नयाँ शुल्क कार्यान्वयनमा आउन सक्ने सम्भावना छ।
ट्रम्प प्रशासनको यो कदमले विश्वका प्रमुख व्यापारिक साझेदारबीच तनाव थप बढाउन सक्ने देखिएको छ। विशेषगरी चीन र अमेरिकाबीचको व्यापार विवाद थप चर्किन सक्ने चिन्ता व्यक्त गरिएको छ।
अर्थशास्त्रीहरूले भन्सार शुल्कले आयात लागत बढाउने र त्यसको भार अमेरिकी व्यवसाय तथा उपभोक्तामाथि पर्न सक्ने चेतावनी दिँदै आएका छन्। आयातित वस्तु महँगिँदा उपभोक्ता मूल्य बढ्ने र मुद्रास्फीतिमा थप दबाब पर्ने जोखिम रहन्छ। यसले अन्तर्राष्ट्रिय व्यापारको प्रवाहसमेत प्रभावित पार्न सक्छ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अमेरिकी उत्पादन वृद्धि, रोजगारी सिर्जना र व्यापार घाटा घटाउने उद्देश्य देखाउँदै पटक–पटक भन्सार शुल्कलाई व्यापार नीतिको प्रमुख औजार बनाउँदै आएका छन्।












