काठमाडौँ । अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी मंगलबारदेखि एक साताभन्दा लामो समयसम्म वर्षा हुन सक्ने अनुमान गरिएको हो ।

मौसमविद् डा. विनोद पोखरेलका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलले वर्षाको सम्भावना देखाएका छन् । चारवटा मोडेलको औसत पूर्वानुमान विश्लेषण गर्दा केही स्थानमा भारी वर्षासमेत हुन सक्ने संकेत देखिएको उनले बताएका छन् ।

ADVERTISEMENT

तर, कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने विषयमा विभिन्न मोडेलका अनुमान फरक रहेकाले अहिले नै यकिन गर्न कठिन रहेको उनको भनाइ छ । मौसम पूर्वानुमान आगामी दिनमा परिवर्तन हुन सक्ने भएकाले पछिल्ला अपडेटमा ध्यान दिनुपर्ने उनले बताएका छन् ।

ADVERTISEMENT

धान काट्ने किसानलाई सावधानी अपनाउन सुझाव

सम्भावित वर्षालाई ध्यानमा राख्दै धान काट्ने तयारीमा रहेका किसानलाई मौसमको पूर्वानुमान हेरेर योजना बनाउन सुझाव दिइएको छ ।

आगामी मंगलबारदेखि धान काट्ने योजना बनाएका किसानले सम्भव भए त्यसभन्दा अगाडि नै धान काटेर सुरक्षित रूपमा भित्र्याउन वा मौसम अनुकूल भएपछि मात्र कटाइ सुरु गर्ने गरी तयारी गर्न मौसमविद् पोखरेलले सुझाएका छन् ।

केही स्थानमा असिनासहित वर्षा हुन सक्ने सम्भावना रहेकाले काट्न बाँकी धान र भित्र्याइसकेको बाली सुरक्षित राख्न किसानले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

हिमाली क्षेत्रमा यात्रा गर्दा सतर्कता

मौसम प्रतिकूल हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै हिमाली क्षेत्रमा यात्रा तथा पदयात्रा गर्नेहरूलाई पनि सावधानी अपनाउन आग्रह गरिएको छ ।

यात्रा वा ट्रेकिङको योजना बनाएकाहरूले मौसमको पछिल्लो पूर्वानुमान र आधिकारिक सूचनाका आधारमा निर्णय लिनुपर्नेछ । वर्षाको सम्भावना रहेकाले किसान, यात्रु तथा प्रभावित क्षेत्रका बासिन्दाले नियमित मौसम अपडेटमा ध्यान दिनु आवश्यक छ ।