काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् । काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले ओली र लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको जानकारी दिए ।

सर्वोच्च अदालतको परमादेशअनुसार थुनामुक्त भएका ओली हाल शिक्षण अस्पतालमा उपचाररत छन् । प्रहरीले बिहीबार बिहान उनलाई परिवारको जिम्मा लगाएर छाडिसकेको छ ।

प्रहरी हिरासतमा रहेका ओलीलाई लिन पत्नी राधिका शाक्य शिक्षण अस्पताल पुगेकी छन् । तर अस्पतालले भने ओलीलाई डिस्चार्ज गर्न नमिल्ने बताएको छ । ओलीको पित्तथैलीमा समस्या देखिएको छ । पिसाबमा पनि संक्रमण रहेको अस्पतालले जनाएको छ । शनिबार पित्त थैलीको पत्थरीको अप्रेसनको मिति तोकिएकाले पनि अस्पतालले डिस्चार्ज गर्न नमानेको हो ।

गत भदौमा भएको जेनजी आन्दोलनमा ज्यान जाने गरी दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंले चैत १४ गते शनिवार पक्राउ गरेको थियो ।

गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनील पोखरेलको इजलासले उनीहरूको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरे पनि परमादेश जारी गर्दै उनीहरूलाई थुनामुक्त हुने बाटो खुलाएको हो ।