ललितपुर । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति चीनसमक्ष आपत्ति दर्ज गरिएको बताएका छन् ।

भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा आफूले असहमति राखेको उनले बताए ।

ADVERTISEMENT

ललितपुरको सनराइज सभा हलमा शुक्रबारदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा ओलीले यसबारे भारतसँग पनि स्पष्ट कुरा राख्दै आएको बताए । ओलीले चीनको ग्लोबल सेक्युरिटी इनिसियिटभ (जिएसआई) मा कुनै समर्थन नगरिएको पनि स्पष्ट पारे ।

ओलीले कोहीकसैसँग सम्झौता नगरी देश र जनताका पक्षमा उभिएकाले पार्टीप्रति आमजनताको विश्वास बढेको बताए । ‘नेपाली जनताले अप्ठ्यारो परिस्थितिमासमेत हामीलाई साथ दिएका छन्, नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिप्रति सदैव प्रतिबद्ध छौँ, भएन भन्न सजिलो छ, लामो बलिदानिमार्फत यहाँसम्म आइपुगेका छौँ, हामी उज्ज्वल भविष्यका लागि मिसन ८४ को अभियानमा छौँ’, उनले भने ।

ADVERTISEMENT

एमाले पार्टी र त्यसका नेताहरूलाई जतिसुकै गालीगलौज गरे पनि नेपाली जनताले विश्वास नगर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले हामी सरकारमा छौँ, जनताकाबीच पुगी अझ विश्वास जित्न सक्यौँ भने ८४ सालमा हुने निर्वाचनमा बहुमत प्राप्त गर्नबाट एमालेलाई कसैले पनि रोक्न सक्दैन । जनताकामाझ गई सक्रिय भएर काम गरौँ ।’