काठमाडौं । प्रधानमन्त्री केपी ओली स्पेनको सेभिया सहरमा आयोजित संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा सहभागी भएका छन् । सम्मेलनमा ओलीसहित नेपाली प्रतिनिधिमण्डल सहभागी भएको हो ।

सोमबार नै गेट्स फाउन्डेसनद्वारा आयोजना गरिने विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा ओलीले सम्बोधन गर्नेछन् । लगत्तै उनको स्टोनियाका राष्ट्रपति अलार कारिससँग द्विपक्षीय वार्ता हुनेछ । ओलीले सम्मेलनलाई अपराह्न अल्पविकसित राष्ट्रहरूको संगठनको अध्यक्षका हैसियतमा सम्बोधन गर्ने कार्यक्रम छ ।

ADVERTISEMENT

सोमबारै ओलीले इजिप्टका प्रधानमन्त्री मोस्तफा कमाल माडबुली, पोर्चुगलका प्रधानमन्त्री लुई मोन्टेनेग्रोसँगको द्विपक्षीय बैठक र संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली र स्पेन सरकारका अध्यक्ष पेड्रो सान्चेजबिच आइतबार भेटवार्ता भएको थियो ।