काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी छ । रास्वपा नेतृत्वको सरकार बनेयता सोमबार नेप्से १९ अंकले बढेबाहेक सेयर बजारमा गएको पहिरो रोकिएको छैन ।
नेपाल स्टक एक्सचेन्ज (नेप्सें) परिसूचक बुधबार ७४.७३ अंकले घटेर २७७६.३६ विन्दुमा ओर्लिएको छ । चार दिनमै सेयर झन्डै दुई सय अंकले घटेको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह बालेन र अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सेयर बजारले पत्याएको देखिएन । बालेन सरकारले एकपछि अर्का नेता र व्यापारीलाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न थालेपछि त्यसको असर पुँजी बजारमा देखिन थालेको सेयर विश्लेषकहरूको भनाइ छ ।
साताको कारोबारको चौथो दिन बुधबार नेप्से ७४ अंकले घटे पनि कारोबार रकम भने अघिल्लो मंगलबारभन्दा बढेको छ । हिजो ११ अर्बको कारोबार भएकोमा आज तीन करोड कित्ता सेयर किनबेच हुँदा १२ अर्ब बराबरको कारोबार भएको छ ।
आज २५५ कम्पनीको सेयर मूल्य घटेको र १३ वटाको मात्र बढेको छ । सबैभन्दा धेरै हिमालयन रिइन्स्यारेन्सको ७१ करोडभन्दा माथिको सेयर कारोबार भएको छ । अपी पावरको ४५ करोड ७२ लाख, ङादी ग्रुपको ४३ करोड, शिवम सिमेन्टको ४२ करोड ८३ लाख र नेपाल रिइन्स्योरेन्सको ४२ करोड ६४ लाखबराबरको कारोबार भएको छ ।
सेयर बजार उच्च अंकले घटे पनि आज पाँचवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोपावरको सेयर १० प्रतिशतभन्दा बढी बढेको छ । भुजुङ हाइड्रो, रिजि लाइ र सूर्यकुण्ड हाइड्रोको सेयर ९.९९ प्रतिशतले बढेको छ ।





