काठमाडौं । चर्चित व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्न पक्राउ गरेको हो ।
भट्टलाई चैत १५ गते अध्यागमन विभागले कालोसूचीमा राखेको थियो । सीआईबी प्रमुख मनोज केसीले भट्ट पक्राउ परेको जानकारी दिए ।
भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन अर्ब ८१ करोड दुरुपयोगको आरोपमा अनुसन्धान अगाडि बढाएको छ । गम्भीर आर्थिक दुरुपयोगको आशंकामा छानबिन सुरु गरेको विभागले नेपाल बिमा प्राधिकरणलाई पत्राचार गर्दै भट्टले विभिन्न बिमा कम्पनी र कोषहरूको अर्बौँ रुपैयाँ दुरुपयोग गरेको विषयमा सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।
विभागका अनुसार भट्टले दोस्रो बजारबाट नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडलगायतका विभिन्न कम्पनीहरूको सेयर खरिद गर्नका लागि हिमालयन रि–इन्स्योरेन्स र यससँग आबद्ध अन्य संस्थाहरूको तीन अर्ब ८१ करोड ४६ लाख ४ हजार २३० रुपैयाँ १७ पैसा बराबरको रकम दुरुपयोग गरेको आरोप छ।





