काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार दिउँसो २ बजे सिंहदरबारमा बस्दैछ । निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने बैठकमा ६ वटा राष्ट्रिय दलका शीर्ष नेताले सम्बोधन गर्ने छन् ।
अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने प्रचलन छ । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछानेले सम्बोधन गर्ने छन् । कांग्रेसबाट भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन र राप्रपाका ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने कार्यसूची छ । पहिलोपटक संसदमा प्रतिनिधित्व गर्दै गरेको श्रम संस्कृति पार्टीबाट अध्यक्ष हर्कराज राई र स्वतन्त्र सांसद महावीर पुन बोल्नेछन् ।
सम्बोधनका निम्ति रास्वपालाई २५ मिनेट, कांग्रेसलाई १०, एमालेलाई आठ मिनेट, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपालाई सात–सात मिनेट समय उपलब्ध गराइने तय छ । स्वतन्त्र सांसदलाई पाँच मिनेटको समय निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ ।
जसअनुसार अब रवि लामिछाने २५ मिनेट, भीष्मराज आङ्देम्बे १०, रामबहादुर थापा ८, वर्षमान पुन ७, हर्क साम्पाङ ७, ज्ञानबहादुर शाही ७ र महावीर पुनले पाँच मिनेट बोल्न पाउनेछन् ।
प्रतिनिधिसभामा विगतमा कांग्रेसबाट शेरबहादुर देउवा, गगन थापा, एमालेबाट केपी ओली नेकपाका माधवकुमार नेपाल, राप्रपाका राजेन्द्र लिङ्देन, जसपाका उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो जस्ता नेता यसपटक संसदमा देखिने बोल्ने छैनन् । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सांसद भए पनि बिहीबार बोल्ने छैनन् ।








