काठमाडौँ । नेपाली रेस्लर भगवती खड्का सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा पक्राउ परेकी छन्। प्रहरीको साइबर अपराधसम्बन्धी निकायले उनलाई सोमबार नियन्त्रणमा लिएको जनाएको छ।प्रहरीका अनुसार खड्काले सामाजिक सञ्जाल प्रयोग गरी एक महिलाको प्रतिष्ठामाथि आँच आउने सामग्री प्रकाशन गरेको आरोप लागेको छ। यस विषयमा परेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
नेपाल प्रहरी साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले खड्कालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनका अनुसार खड्काविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा चलाइएको छ।
यस प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा सामाजिक सञ्जालमा प्रयोग भएका सामग्री, उपकरण तथा सम्बन्धित प्रमाणहरू संकलन गर्ने कार्य भइरहेको बताइएको छ।







