काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको पुरानो केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
निवर्तमान कार्यवाहक सभापति खड्का, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, एनपी साउद, श्याम घिमिरे, मोहनबहादुर बस्नेत, मदन अमात्य, महालक्ष्मी उपाध्याय डिना, आनन्दप्रसाद ढुंगाना, रामहरि खतिवडा, बलबहादुर केसी, राजीवविक्रम शाह, कुन्दन काफ्लेलगायत नेताहरू धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजित बैठकमा सहभागी छन् ।
अधिकांश नेताहरु धेरैअघि पुगे पनि शेखर कोइराला नआएकाले बैठक सुरु हुन सकेको थिएन । शेखर आएपछि मात्रै बैठक सुरु भएको थियो । देउवा–कोइराला समूहले ब्यानर नराखीकनै बैठक सञ्चालन गरेको छ । १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक भनिए पनि मञ्च र ब्यानर नराखेकाले अनुशासनको कारबाहीबाट बच्ने उपाय भएको अनुमान गरिएको छ ।
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय केन्द्रीय समितिको बैठक बोलाएका हुन् । ब्यानर र मञ्चसहित बैठक राखे समानान्तर गतिविधि गरेको आरोपमा अनुशासनको कारबाही गर्ने कांग्रेस संस्थापनको तयारी छ ।
पार्टी आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला पुरानो कार्यसमितिको बैठक बोलाएपछि कांग्रेसमा विवाद उत्कर्षमा पुगेको छ । खडका–शेखर कोइरालाले दुई दिने बैठक राखेका हुन् । यो बैठकले कांग्रेसबाट अलग हुने निर्णयसमेत गर्न सक्ने बताइन्छ । खड्का–कोइराला समूहमा रहेका अधिकांश नेताले हालै सम्पन्न निर्वाचनमा घन्टीमा भोट हाल्न पार्टीका कार्यकर्ता र समर्थकलाई आह्वान गरेका थिए ।
बैठकमा दुई प्रदेश सभापतिसहित विघटित केन्द्रीय समितिका ६२ सदस्य सहभागी थिए । जसमा पूर्णबहादुर खड्का ,शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, बद्री पाण्डे, जीवन परियार, मोहन बस्नेत, महेन्द्रा सुब्बा, सरस्वती बजिमया, कल्याणी रिजाल, मानबहादुर विश्वकर्मा, शारदा पौडेल, पुष्प पराजुली, अर्जुन जंगबहादुर सिंह, आशा विक, अम्बिका बस्नेत, आनन्द ढुङ्गाना, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, एनपी साउद, दीलेन्द्र बडू, शिव हुमागाईं, उमेशजंग रायमाझी, जितजंग बस्नेत, गुरु बराल, गणेश लामा, किरण पौडेल, सीता गुरुङ, पद्म नारायण चौधरी, कृष्ण किशोर घिमिरे, प्रदीप सुनुवार, शान्ति विक, दिपक गिरी, कुन्दन काफ्ले, श्याम घिमिरे, गेहेन्द्र गिरी छन् ।
यस्तै रामहरि खतिवडा, जीवनबहादुर शाही, सीता राना, राधा घले, ध्यानगोविन्द रञ्जित, राजीव विक्रम शाही, मानबहादुर नेपाली, सीता देवकोटा, सरस्वती तिवारी, विद्या तिमलसिना, लक्ष्मी खतिवडा, जीवन राना, कान्तिका सेजुवाल, रमा कोइराला, शुशिला मिश्र, डा. रणबहादुर रावल, ईश्वरी न्यौपाने, महालक्ष्मी उपाध्याय डिना, मदनबहादुर अमात्य, गोविन्द भट्टराई, भीम पराजुली, हरिशरण नेपाली, शंकर भण्डारी सुदुरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर र कर्णाली प्रदेश सभापति ललितजंग शाही बैठकमा सहभागी रहेकाे बताइन्छ ।









