काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आसन्न निर्वाचन नलड्ने भएका छन् । पार्टीमा विकसित पछिल्लो घटनाक्रमपछि २१ फागुनमा हुन गइरहेको निर्वाचन नलड्ने भएका हुन् ।
निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिसमा परेका थिए । उनीनिकट स्रोतले खड्का निर्वाचन नलड्ने पुष्टि गरेको छ । ‘पूर्ण दाइ चुनाव लड्न हुन्न । तर, चुनाव प्रचार–प्रसारका लागि देशभर जानुहुन्छ । पार्टीलाई जिताउन लाग्नुहुन्छ,’ उनीनिकट एक नेताले भने ।
खड्काले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा जुनसुकै फैसला आए पनि कांग्रेसलाई एकढिक्का बनाउन लाग्ने आफूनिकट नेताहरूसँग बताएका छन् । आइतबार राति नै उनले सामाजिक सञ्जालमार्फत चारतारे झन्डा र रुख छाड्ने कल्पनासमेत नगर्न आग्रह गरेका थिए ।
खड्काले आफू चुनाव नलड्ने भए पनि आफ्ना समर्थक नेताहरूलाई पार्टीभित्रै मिलेर रूख चिह्नबाटै चुनाव लड्न, तथा नवनिर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिसँग संवाद गरेर अघि बढ्न निर्देशन दिएका छन् । ‘म कार्यवाहक सभापतिको जिम्मेवारीमा रहँदा संवादबाट समाधान खोज्नुपर्ने बेला हामी मुद्दामामिलामा गयौं, त्यसैले नैतिक हिसाबले म यो चुनाव लड्न सक्दिनँ,’ खड्काले बताउने गरेका छन् ।
अहिले कांग्रेस एकढिक्का भएर नगए आगामी वैशाखमा हुने १५औं महाधिवेशनमा समस्या उत्पन्न हुने भएकाले पनि खड्का र शेखर कोइरालाले सहमतिबाटै अघि बढ्ने मनस्थिति बनाएका छन् । काेइरालालाई भने चुनाव लड्न निकै दबाब छ । साेमबार साँझसम्म एउटा निर्णय गर्ने उनले निकट नेतालाई बताएका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम छ। उम्मेदवारको टुंगो लगाउन बार्ड बैठक बसिरहेको छ । बैठकले हिमाली जिल्लाको टिकटको टुंगो लगाइसकेको छ । अब ४ बजेपछि अरु टिकटबारे छलफल हुनेछ ।








