काठमाडौँ । कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ । कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुने छ । बैठकमा केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यलाई आमन्त्रण गरिएको छ । केन्द्रीय कार्यसमिति बैठकले कांग्रेसको १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने छ । कांग्रेसमा संस्थापन पक्ष वैशाखमा नियमित महाधिवेशन गर्ने पक्षमा छ । तर महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहितका नेताहरु मंसिरमै नियमित महाधिवेशन गर्ने, नभए विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्नुपर्ने अडानमा छ ।

ADVERTISEMENT

यसअघि मंगलबार सभापति देउवाको अध्यक्षतामा सुरु केन्द्रीय समिति बैठकलाई नै आज निरन्तरता दिन लागिएको हो। आजदेखि बैठकको अध्यक्षता कार्यवाहक सभापति खड्काले गर्नेछन्।

ADVERTISEMENT

खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएपछि बुधबार एक दिन स्थगन गरिएको कांग्रेस केन्द्रीय समितिको बैठकलाई आजदेखि पुनः निरन्तरता दिन लागिएको हो। बुधबार कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर नेताहरूले विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए ।

तर हस्ताक्षर बुझाएको केही समयलगत्तै खड्काले संस्थापन पक्षको बैठक राखेका थिए । बैठकले विशेष महाधिवेशन अस्वीकार गर्ने निर्णय गरेको छ । देउवा सभापतिमा निर्वाचित भएयता एकपटक पनि आफू निकट नेताहरुको भेला राखेका थिएनन् । उनले पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समिति बैठक राखेर निर्णय गर्दै आएका थिए ।

ADVERTISEMENT

तर खड्काले भने देउवाले सक्रिय राजनीति छाडेको भोलिपल्टै गुटेको भेला राखेपछि कांग्रेसमा असन्तुष्टि चुलिएको छ । खड्का अभिभावक बन्न नसकेको आवाज उठेको छ । याे विषयलाई लिएर बैठकमा नेताहरुले कुरा उठाउने तयारी गरेका छन् ।