काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकोे संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न बिहीबार केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।
चैत १२ गते अपराह्न २ बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह हुँदैछ । सोही दिन दिउँसो ४ बजे रास्वपाले आफ्नो संसदीय दलको नेता चयनसम्बन्धी छलफलका लागि बैठक बोलाएको हो ।
पार्टी सभापति रवि लामिछानेका अध्यक्षतामा बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको सो बैठकमा विविध विषयमा छलफल हुने बताइएको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रतक्ष्यतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटमा जीत हासिल गरेको छ ।
रास्वपाले दुई तिहाइ बहुमत पाएकाले बालेन्द्र साह बालेन प्रधानमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री हुन दलको नेता आवश्यक पर्ने भएकाले रास्वपाले बिहीबार बालेनलाई दलको नेता चुन्ने भएको छ । नयाँ प्रधानमन्त्रीका रूपमा बालेनले शुक्रबार शपथ लिँदैछन् ।






