काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयविरुद्ध परेको रिट निवेदनमा मंगलबार पुनः सुनुवाइ हुने भएको छ।सर्वोच्च अदालत मा सोमबार भएको सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको हो। अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा बहस पूरा नभएपछि मंगलबारका लागि पुनः पेसी तोकिएको हो।

यसअघि अर्को संयुक्त इजलासले महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा फिर्ता लिने संशोधित निर्णयसम्बन्धी कागजात पेस गर्न आदेश दिएको थियो। सो आदेशअनुसार आवश्यक कागजात अदालतमा पेस भइसकेपछि अहिले उक्त निर्णयको वैधानिकता र प्रक्रियामाथि गहन बहस भइरहेको छ।

महान्यायाधिवक्ता सविता भण्डारी बराल ले अघिल्लो सरकारको पालामा दायर भएका लामिछानेविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसको विरोधमा कानुनी चुनौती दिइएको हो।उक्त निर्णयविरुद्ध अधिवक्ताहरू युवराज पौडेल, दिनेश त्रिपाठी र आभास रेग्मी ले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन्। उनीहरूले मुद्दा फिर्ता गर्ने निर्णयले कानुनी प्रक्रिया र सुशासनको मर्ममाथि प्रश्न उठाएको जिकिर गरेका छन्।

अब मंगलबार हुने सुनुवाइले यस प्रकरणमा महत्वपूर्ण दिशा तय गर्ने अपेक्षा गरिएको छ। अदालतको निर्णयले न केवल लामिछानेसम्बन्धी मुद्दाको भविष्य निर्धारण गर्नेछ, बल्कि महान्यायाधिवक्ताको अधिकार क्षेत्र र आपराधिक मुद्दा फिर्ता प्रक्रियासमेत स्पष्ट पार्ने कानुनी नजीर बन्न सक्ने देखिन्छ।