काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा दुईवटा एजेन्डा पेस भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सभापति गगन थापाले दिएको राजीनामा र निर्वाचनको प्रारम्भिक समीक्षासम्बन्धी एजेन्डा पेस भएको हो ।
चुनावी समीक्षा गर्न बोलाइएको बैठकमा थापा भने उपस्थित छैनन् । उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । तर पनि सभापतिको कुर्सी खाली राखेर छलफल अघि बढाइएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपल्ट बसेको केन्द्रीय समिति बैठकमा सातै प्रदेशका सभापतिको समेत उपस्थिति छ ।
अधिकांश केन्द्रीय समिति सदस्यले थापाको राजीनामा स्वीकृत नहुने संकेत गरेका छन् ।
कांग्रेस नेता उदयशमशेर राणाले सम्पूर्ण केन्द्रीय समिति सदस्यले धारणा राखेपछि निर्णय गरिने बताए । ‘अधिकांश कांग्रेसको कार्यकर्ता र नेताले गगन थापाको आवश्यकता रहेको बताएका छन् । अहिले राजीनामा दिनु हुन्न भन्ने धारणा छ । धेरै छोटो समयलाई हेरेर निचोडमा पुग्नु हुँदैन,’ उनले भने । उपसभापति शर्माले गगनको राजीनामा अस्वीकृत हुने बताइसकेका छन् ।





