काठमाडौं । प्रतिनिधि सभा सदस्यको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सरोकारवाला पक्षप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले धन्यवाद व्यक्त गरेको छ ।

पार्टीले जारी गरेको वक्तव्यमा चौतर्फी चुनौतीका बाबजुद पनि निर्वाचनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने सबैप्रति कृतज्ञता व्यक्त गरिएको छ ।

निर्वाचनलाई निर्धारित मितिमा सम्पन्न गर्न खटिएका प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकारका विभिन्न निकाय, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चार क्षेत्र, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति पार्टीले धन्यवाद दिएको छ ।

पार्टीले अब आउने निर्वाचन परिणामले जेनजी पुस्ताले लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति राखेको अपेक्षा र आकांक्षालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरेको छ ।