काठमाडौं। हिमालयन बैंक लिमिटेड अब फोनपे पेमेन्ट सर्भिस लिमिटेड (फोनपे) नेटवर्कमा आबद्ध भएको छ। यससँगै नेपालको डिजिटल भुक्तानी प्रणाली थप सुदृढ हुने अपेक्षा गरिएको छ।

फोनपेले शुक्रबार औपचारिक रूपमा हिमालयन बैंकलाई आफ्नो अन्तरसञ्चालनयोग्य क्यूआर भुक्तानी नेटवर्कमा समेटिएको घोषणा गरेको हो। यो सहकार्यलाई नेपालको डिजिटल भुक्तानी पूर्वाधार विस्तारका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

सन् १९९३ मा स्थापना भएको हिमालयन बैंक निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकका रूपमा परिचित छ। देशभर फैलिएको शाखा सञ्जाल र बलियो ग्राहक आधार रहेको बैंक अब फोनपे नेटवर्कमा जोडिएपछि लाखौं ग्राहकले सहज रूपमा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन्।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारका अनुसार हिमालयन बैंकको आबद्धताले डिजिटल भुक्तानी प्रणालीलाई देशव्यापी रूपमा विस्तार गर्न थप टेवा पुग्नेछ। उनले हिमालयन बैंकले नेपाली ग्राहकहरूसँग निर्माण गरेको विश्वास र फोनपे नेटवर्कका २० लाखभन्दा बढी ग्राहकबिचको संयोजनले नगदरहित अर्थतन्त्रतर्फ अघि बढ्न मद्दत गर्ने बताएका छन्।

यस्तै, हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक एसजेबी राणाले फोनपे नेटवर्कमा आबद्ध हुनु बैंकको डिजिटल नवप्रवर्तनतर्फको स्वाभाविक विस्तार भएको उल्लेख गरे। उनले अब बैंकका ग्राहकहरूले छिटो, सुरक्षित र देशभर स्वीकार्य डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्ने बताए।

हाल यो साझेदारी प्राविधिक एकीकरणको चरणमा रहेको छ। एकीकरण प्रक्रिया पूरा भएपछि हिमालयन बैंकका ग्राहकहरूले फोनपे नेटवर्कमा आबद्ध विभिन्न सेवा प्रदायक तथा व्यापारीहरूसँग सहज रूपमा कारोबार गर्न सक्नेछन्।

यस सहकार्यले नेपालमा समावेशी, अन्तरसञ्चालनयोग्य र एकीकृत डिजिटल भुक्तानी प्रणाली निर्माण गर्ने प्रयासलाई थप बल पुगेको छ। फोनपेले बैंक, वित्तीय संस्था र व्यापारीलाई एउटै प्लेटफर्ममा जोड्दै डिजिटल अर्थतन्त्र विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।