काठमाडौँ। अमेरिकामा बसोबास गर्ने नेपालीहरूको सामाजिक संस्था नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासिया) ले नेपाल पुनःनिर्माण कोषका लागि करिब नौ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ।

नासियाका कोषाध्यक्ष पुरनराज खतिवडाले बिहीबार बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए। उनका अनुसार ‘जेनजी आन्दोलन’का क्रममा सहिद भएका युवाहरूको परिवारको राहत तथा पुनःस्थापनाका लागि उक्त रकम संकलन गरी सरकारलाई हस्तान्तरण गरिएको हो।

सो अवसरमा प्रधानमन्त्री कार्कीले विदेशमा बस्ने नेपालीहरूले खाई–नखाई संकलन गरेको रकम पुनःनिर्माण कोषमा सहयोगस्वरूप प्रदान गरेकोमा धन्यवाद व्यक्त गरिन्। उनले आपत्, विपद् तथा महामारीका बेला विदेशमा रहेका नेपालीहरूले देखाउँदै आएको सहयोग र चिन्ताको खुलेर प्रशंसा गरिन्।

ADVERTISEMENT

प्रधानमन्त्री कार्कीले भनिन्, “जब हामी यहाँ समस्यामा पर्छौँ, कुनै विपद् वा महामारी आउँछ, तपाईंहरू विदेशमा बसेर पनि देशको चिन्ता गर्नुहुन्छ। खाई–नखाई रकम जम्मा गरेर सहयोग गर्नुहुन्छ। यही नै नेपालीपन हो। आखिर आफ्नो देश आफ्नै हुन्छ।”

ADVERTISEMENT

 

ADVERTISEMENT