झापा। अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार स्थानीय अन्दाजी ६५ वर्षीय यमबहादुर लाय मगर मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार आइतबार साँझ करिब ७ बजे यमबहादुर आफ्नै पुरानो घर जाने भन्दै घरबाट निस्किएका थिए। तर उनी घर नफर्किएपछि परिवार तथा स्थानीयले खोजतलास गर्ने क्रममा सोही स्थानको शान्ति सामुदायिक वनभित्र पर्ने अन्दाजी ७० फिट अग्लो भिरबाट लडेको अवस्थामा उनको शव फेला परेको हो।
घटनाको जानकारी आज प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ। मृतकको शव आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।







