काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतदानमा देशभर करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।

उनका अनुसार अधिकांश मतदान केन्द्रमा मतदान प्रक्रिया सकिएको भए पनि केही स्थानमा भने मतदान अझै जारी रहेको छ।

निर्वाचन आयोगले मतदानको समय साँझ ५ बजेसम्म तोकेको थियो। तर सो समयभित्र मतदान केन्द्र परिसरमा प्रवेश गरिसकेका मतदातालाई भने मतदान गर्न दिइने व्यवस्था रहेको आयोगले जनाएको छ।

देशभर मतदान सम्पन्न भएसँगै अब मतपेटिका संकलन र मतगणनाको तयारी सुरु गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ। 🗳️