काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा सञ्चारमाध्यमलाई निष्पक्ष र तटस्थ समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले समाचार निर्माण गर्दा कुनै दल, व्यक्ति वा उम्मेदवारको पक्ष वा विपक्षमा नलाग्न अनुरोध गरे एकतर्फी र एकपक्षीय ढङ्गले समाचार वा विचार प्रस्तुत गर्दा अन्य उम्मेदवारलाई प्रभाव पर्ने भएकाले यस्ता सामग्री सम्प्रेषण नगर्न उनको भनाइ थियो।

ADVERTISEMENT

देशभर निर्वाचनमय वातावरण बनिरहेको र निर्वाचन अन्तिम चरणतर्फ उन्मुख भइरहेका बेला समाचार मात्र नभई विचार सम्प्रेषण गर्दा पनि निष्पक्षता अपनाउनुपर्नेमा आयुक्त भण्डारीले जोड दिए। 

“सञ्चारमाध्यममा विचार राख्दा सबैको आ–आफ्नो मौलिकता र दृष्टिकोण हुन्छ, तर त्यो व्यक्त गर्दा कुनै दल, व्यक्ति वा उम्मेदवारको पक्ष वा विपक्षमा गर्न पाइँदैन,” उनले भने, “त्यसैले समाचार सत्यतथ्यमा आधारित भएर मात्रै सम्प्रेषण गरिदिन आग्रह गर्दछु।”

ADVERTISEMENT

आचारसंहिता उल्लङ्घनसम्बन्धी प्राप्त उजुरीमाथि छानबिन र आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उनले आचारसंहिता कार्यान्वयन र पालना भए नभएको विषयमा विभिन्न तह र तप्काबाट निरन्तर अनुगमन भइरहेको बताए। आयोगले आचारसंहिता उल्लङ्घनको निगरानी गरिरहेको र निर्वाचनको तयारी पनि तीव्र गतिमा अघि बढिरहेको आयुक्त भण्डारीले बताए ।