दमौली। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ। तनहुँका दुवै निर्वाचन क्षेत्रको प्रत्यक्ष र समानुपातिक मतपत्र शनिबार जिल्ला निर्वाचन कार्यालयमा प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालले जानकारी दिए।
क्षेत्र नं १ को मतपत्र दमौलीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित गरिएको छ भने क्षेत्र नं २ को मतपत्र दुलेगौँडास्थित निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ। क्षेत्र नं १ प्रत्यक्षतर्फ एक लाख ३६ हजार र समानुपातिकतर्फ एक लाख ४२ हजार मतपत्र आएको छ भने क्षेत्र नं २ प्रत्यक्षतर्फ र समानुपातिकतर्फ एक लाख ३७ हजार मतपत्र आइपुगेको निर्वाचन अधिकारी लम्सालले जानकारी दिए।
निर्वाचनका लागि आवश्यक अन्य सामग्री पनि व्यवस्थापन भइसकेको छ। मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त भइसकेका छन् र उनीहरूको तालिम फागुन ११ (क्षेत्र नं १) र फागुन १२ (क्षेत्र नं २) मा सञ्चालन हुने तयारी छ।
तनहुँमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। क्षेत्र नं १ अन्तर्गत व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछन्। क्षेत्र नं २ अन्तर्गत शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाका वडा नं ५ र ६ पर्दछन्।
मतदाता संख्या अनुसार क्षेत्र नं १ मा कुल एक लाख २६ हजार ८८२ मतदाता छन्, जसमा पुरुष ६१ हजार ७७८ र महिला ६५ हजार १०४ छन्। क्षेत्र नं २ मा कुल एक लाख २७ हजार ५१५ मतदाता रहेका छन्, जसमा पुरुष ६१ हजार ७१३ र महिला ६५ हजार ८०२ रहेका छन्।
निर्वाचनलाई लक्षित गर्दै जिल्लाका दशवटै पालिकामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि स्वयंसेवक परिचालन गरिएको छ। बन्दीपुर गाउँपालिकामा छ वटै वडामा स्वयंसेवकलाई मतदान प्रक्रिया, मतदाताको अधिकार–कर्तव्य, बदर मत न्यूनीकरण लगायतका विषयमा तालिम दिइएको छ। स्वयंसेवकले मतदान प्रक्रियाका बारेमा मतदातासँग प्रत्यक्ष जानकारी प्रदान गर्नेछन्।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएमा मतदान प्रक्रिया सहज हुने र बदर मतको समस्या उल्लेखनीय रूपमा घट्ने विश्वास व्यक्त गरे। विशेषगरी नयाँ मतदाता, पहिलो पटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक र कम साक्षर मतदातालाई लक्षित गरी व्यवहारिक अभ्याससहित कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रम अन्तर्गत मतपत्रमा सही चिन्ह कसरी लगाउने, प्रत्यक्ष र समानुपातिक प्रणालीबीचको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता, मतदानको गोपनीयता र अन्य आवश्यक जानकारी मतदातालाई उपलब्ध गराइनेछ। यसरी मतदाता शिक्षाबाट मतदातालाई मतदान प्रक्रिया बुझाउन र बदर मत न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम छन्। यसमध्ये पुरुष मतदाता १ लाख २३ हजार ४९१ र महिला मतदाता १ लाख ३० हजार ९०६ रहेका छन्। मतदाता शिक्षाका कार्यक्रमले विशेष गरी पहिलो पटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक र कम साक्षर मतदातालाई लक्षित गर्दै मतदान प्रक्रियामा सहजीकरण गर्ने लक्ष्य राखिएको छ।






