काठमाडौँ। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्टमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको हो।

अन्तर्राष्ट्रिय अभिकर्ता फोरम एमडिआरटीले एमडिआरटी २०२६ का लागि तोकेको बीमाशुल्क संकलन मापदण्ड पूरा गर्ने नेपालभरका ८३ जना अभिकर्तालाई कार्यक्रममा सम्मान गरिएको थियो। सम्मानित अभिकर्तामध्ये टिओटीमा २ जना, सिओटीमा ४ जना र एमडिआरटीमा ७७ जना रहेका छन्।

ADVERTISEMENT

अध्यक्ष सिंहले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरेकी थिइन्। सो अवसरमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम राजाले जीवन बीमा व्यवसायमा अभिकर्ताको भूमिका, व्यवसायिक दक्षता अभिवृद्धि र निरन्तर एमडिआरटी लक्ष्य हासिल गर्ने विषयमा उत्प्रेरक तालिम प्रदान गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन अभिकर्ता समूहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अभिकर्ता केन्द्रित केही नयाँ अभ्यासहरू सुरु गरिएको बताए। उनले एमडिआरटी, सिओटी र टिओटी लक्ष्य हासिल गर्न सफल सबै अभिकर्तालाई विशेष सम्मान गर्दै ‘चेज योर एमडिआरटी’ मासिक योजनामा सफल अभिकर्तालाई तोकिएको प्रोत्साहन प्रदान गरिएको जानकारी दिए। साथै सबैभन्दा बढी एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल तिनकुने शाखालाई पनि सम्मान गरिएको थियो।

ADVERTISEMENT

कम्पनीकी उप–प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेलले सहभागीहरूलाई स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने नायब महाप्रबन्धक प्रज्वल सायमीले धन्यवाद ज्ञापन गरेका थिए।

विभिन्न मनोरञ्जनात्मक प्रस्तुति, उपलब्धिमूलक तालिम र उच्चस्तरीय सम्मान कार्यक्रम समावेश गरिएको समारोहमा सम्मान ग्रहण गर्ने अभिकर्ता तथा बिजनेस लिडरहरूले आफूहरूको मेहनतको कदर भएको र अत्यन्तै गर्व महसुस भएको प्रतिक्रिया व्यक्त गरेका छन्।