काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी वा पुराना दलमध्ये एकको सटर बन्द गरिदिन आह्वान गरेका छन् ।

बुधबार धनगढीमा पार्टीको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले कि रास्वपाको कि पुराना दलको सटर बन्द हुनुपर्ने बताए । ‘जनताको अधिकारलाई, जनताको मुद्दालाई, सुदूरपश्चिमको मुद्दालाई, सुदूरपश्चिमको अधिकारलाई माग बनाएर वर्षौँसम्म अल्झाउने काम अब बन्द गर्नुपर्छ । सटर एउटा त बन्द हुनुपर्छ– कि हाम्रो सटर बन्द गराइदिनुस् कि यिनको सटर बन्द गराइदिनुस्,’ उनले भने।

लामिछानेले यही २१ फागुन भोट हाल्ने मात्र नभई इतिहास लेख्ने दिन हो भन्दै थपे, ‘कुशासनको सटर बन्द गर्ने हो, बेथितिको सटर बन्द गर्ने हो, बेरोजगारी, अशिक्षा सबै सटर बन्द गर्ने हो एकैपटक । २१ गते इतिहास लेख्ने हो भोट हाल्ने होइन ।’

लामिछानेले सुदूरपश्चिमी समुदायलाई चुनावमा मतदानका लागि आउन आह्वान गर्दै भने, ‘यसपटक जनता जिताउने हो। हामी इतिहास बदल्ने सोच लिएर आएका छौँ । देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर आएका छौँ। यो ऐतिहासिक अवसर हो, यसपटक मत नबाँढ्नुहोला।’

उनले पुराना पार्टीहरूको आलोचना गर्दै भने, ‘म ससाना समस्या होइन, देशका समग्र समस्याको समाधान गर्न आएको हुँ। सिंहदरबार जलायो भनेर कुरा गरिन्छ, तर अब सिंहदरबार बनाउने भन्दा पनि बदल्ने हो।’ लामिछानेले जनताको अधिकार र चुनावी वचनबद्धता पूरा नगरेको पुरानो राजनीतिक अभ्यासलाई अन्त्य गर्ने अठोट व्यक्त गरे।