काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालत न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको मागअनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएका हुन् ।

जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो । इजलासले लामिछानेको सहकारी ठगीसम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ ।

ADVERTISEMENT

सुमन खनाललगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको तथा लामिछानेलगायत प्रतिवादी रहेको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले अभियोग पत्र संशोधनको निवेदन दायर गरेको थियो ।

ADVERTISEMENT

अदालतको यो आदेशसँगै अब लामिछानेसहित जीबी राई र छविलाल जोशी पनि संगठित अपराधसम्बन्धी कसुरबाट मुक्त भएका छन् ।

रास्वपाको प्रथम महाधिवेशनअघि रविलाई फौजदारी कसुरबाट मुक्त गरिएको छ । अब रवि असार ७ देखि ९ गतेसम्म चितवनमा हुने रास्वपाको प्रथम महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित हुनेछन् ।

ADVERTISEMENT

रविमाथि केपी ओली नेतृत्वको सरकारले पर्सा, काठमाडौं, कास्की र रुपन्देही जिल्ला अदालतमा सहकारीको पैसा अपचलनसँगै संगठित अपराधको मुद्दा दर्ता गरेको थियो । रवि अहिले पनि सोही मुद्दाको तारेख बुझ्न अदालत धाइरहेका छन् । बिहीबार मात्र उनले काठमाडौं जिल्ला अदालतमा तारेख बुझेका थिए ।