काठमाडौं। काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एक विमानमा प्राविधिक समस्या देखिएपछि सोमबार बिहान आकस्मिक रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काएर सुरक्षित अवतरण गराइएको छ।

बुद्ध एयरको उक्त उडान बिहान करिब ७:०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुरका लागि प्रस्थान गरेको थियो। उडानका क्रममा विमानको ल्यान्डिङ गियरसँग सम्बन्धित प्राविधिक समस्या देखिएपछि जहाजलाई बीचबाटै काठमाडौं फर्काइएको हो।

ADVERTISEMENT

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जय कुमारका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै विमानलाई आपत्कालीन अवस्थामा सुरक्षित रूपमा अवतरण गराइएको हो। उनले विमानका सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको जानकारी दिए।

प्रवक्ता कुमारले विमानमा देखिएको प्राविधिक समस्याबारे विस्तृत परीक्षण तथा निरीक्षण भइरहेको बताए। साथै प्रभावित यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन वैकल्पिक उडान व्यवस्थाको तयारी भइरहेको पनि उनले जानकारी दिए।

ADVERTISEMENT

घटनापछि विमानस्थलको उडान सञ्चालन भने सामान्य अवस्थामा रहेको जनाइएको छ। प्राविधिक समस्या देखिएपछि सुरक्षालाई प्राथमिकतामा राखेर विमान फर्काउने निर्णय गरिएको बुद्ध एयर स्रोतले जनाएको छ।