काठमाडौँ। निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौन अवधिमा हुनसक्ने चलखेल रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताएका छन्। उनले निर्वाचनमा मौन अवधि प्रचारप्रसारबाट थाकेका उम्मेदवारलाई शान्त रहन तथा मतदातालाई स्वतन्त्र रूपमा सोचविचार गरी उम्मेदवार छनोट गर्ने अवसरका रूपमा लिइने समय भएकाले निर्वाचन आचारसंहिताविपरीतका कुनै कार्य नगर्न आग्रह गरेका छन्।

आयुक्त राणाले भने, “मौन अवधिमा निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दल र उम्मेदवारले मतदातालाई प्रभावमा पार्न सक्छन् भन्ने विषयमा आयोग सचेत छ। कानुनविपरीतका गतिविधि रोक्न जिल्ला अनुगमन अधिकृत र सुरक्षा निकाय परिचालन गरी विशेष निगरानीको व्यवस्था मिलाइएको छ।”

लोकतन्त्रको आधारका रूपमा रहेको आवधिक निर्वाचन यस पटक भदौ २३ गते भएको जेनजी पुस्ताको आन्दोलनपछि प्राप्त उपलब्धिसँग जोडिएको सन्दर्भमा भइरहेको छ। आवधिक निर्वाचनबाटै लोकतन्त्र सुदृढ हुने मान्यता रहिआएको छ।

जनताको व्यापक सहभागितामा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न निर्वाचनबाटै असल नेतृत्व चयन हुने र त्यसमार्फत सुशासन, विकास र समृद्धि सम्भव हुने विश्वास गरिन्छ।

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे गरिएको कुराकानीको सम्पादित अंश:

 आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्था कस्तो छ ?

 निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। करिब तीन लाख ४२ हजार सुरक्षाकर्मी परिचालन भइसकेका छन्। कर्मचारीहरू पनि खटिएका छन्। मतपत्र सबै निर्वाचन क्षेत्रमा पु¥याइसकिएको छ। मतदान अधिकृतहरूको तालिम सम्पन्न भई सम्बन्धित स्थानमा पुगेका छन्। आचारसंहिता अनुगमन तीव्र बनाइएको छ। निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा छ।

निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सरकारसँग समन्वय कसरी भइरहेको छ ?

गृहमन्त्रीको अध्यक्षतामा सातवटै प्रदेशमा निर्वाचन सुरक्षा गोष्ठी सम्पन्न भएका छन्। निर्वाचन सुरक्षा समितिको बैठकमार्फत सम्भावित चुनौतीको विश्लेषण गरिएको छ। सरकार र आयोगबीच प्रभावकारी समन्वय भइरहेको छ। दुवै पक्ष निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न प्रतिबद्ध छन्।

 प्रचारप्रसारका क्रममा दल र उम्मेदवारले के कुरामा ध्यान दिनुपर्छ ?

 निर्वाचन आचारसंहिताको पूर्ण पालना हुनुपर्छ। भौतिकरूपमा उल्लङ्घन घटेको छ तर सामाजिक सञ्जालमा बढेको देखिएको छ। सामाजिक सञ्जाल प्लेटफर्म, साइबर ब्यूरो र सुरक्षा निकायसँग समन्वय गरी उल्लङ्घन गर्ने सामग्री हटाउने व्यवस्था गरिएको छ। आरोप–प्रत्यारोपभन्दा सभ्य प्रचारप्रसारमा ध्यान दिन आवश्यक छ।

मतदाता शिक्षाको अवस्था कस्तो छ ?

मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। स्वयंसेविका परिचालन गरी गाउँबस्तीस्तरसम्म सचेतना अभियान चलाइएको छ। डिजिटल माध्यमबाट पनि प्रचार भइरहेको छ। बदर मत घट्ने अपेक्षा गरिएको छ।

 आचारसंहिता पालनामा देखिएका चुनौती के हुन् ?

उत्तर : सामाजिक सञ्जाल र एआइको दुरुपयोग मुख्य चुनौती बनेको छ। भ्रामक सामग्री फैलाउने प्रवृत्ति देखिएको छ। त्यसलाई नियन्त्रण गर्न प्राविधिक टोली परिचालन गरिएको छ। टिकटकसँग समन्वय गरी उल्लङ्घन सामग्री हटाउने व्यवस्था गरिएको छ।

मौन अवधिमा के व्यवस्था गरिएको छ ?

 मौन अवधि मतदातालाई स्वतन्त्र रूपमा निर्णय लिन दिइने समय हो। यस अवधिमा मतदातालाई प्रभाव पार्ने गतिविधि हुन नदिन जिल्ला अनुगमन अधिकृत र सुरक्षा निकाय परिचालन गरिएको छ। विशेष निगरानीको व्यवस्था गरिएको छ।

 बदर मत घटाउन मतदाताले के ध्यान दिनुपर्छ ?

मतपत्रमा निर्वाचन चिह्नको कोठाभित्र मात्र स्पष्ट स्वस्तिक छाप लगाउनुपर्छ। मतपत्र सही तरिकाले फोल्ड गर्नुपर्छ। मतदाता शिक्षामार्फत यसबारे सचेतना अभियान सञ्चालन भइरहेको छ।

मतदान र मतगणना व्यवस्थापन कस्तो छ ?

उत्तर : एक हजारसम्म मतदाता भएको स्थानमा एउटा मतदान केन्द्र राखिएको छ। सोभन्दा बढी भए थप केन्द्रको व्यवस्था गरिएको छ। वृद्ध, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला र बिरामीलाई प्राथमिकता दिइनेछ। मतगणनाका लागि जनशक्ति बढाइएको छ तर म्यानुअल प्रणालीमै गणना हुनेछ।

मतदातालाई सन्देश के छ ?

निर्वाचन लोकतन्त्र सुदृढ गर्ने महत्वपूर्ण प्रक्रिया हो। योग्य उम्मेदवार छनोटका लागि फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न अपिल गरिएको छ।