काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि ६० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गरेका छन् ।
सिंहदरबारमा आज बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले चुनावका लागि ६० प्रतिशत काम सम्पन्न भएको दाबी गरेका हुुन ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार आजदेखि कानून अनुसार चुनाव अवधि प्रारम्भ भएको छ । अबको चार महिनामा चुनाव सम्पन्न गराउन आयोगलाई कुनै आपत्ति नरहेको उनको भनाइ छ ।
विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने व्यवस्थामा सरकारले कानून बनाएर दिए निर्वाचन आयोग कार्यान्वयन गर्न तयार रहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए ।
उनले अहिलेको चुनाव अग्रिम र आकस्मिक भएकाले चुनावमा जानुको विकल्प नरहेको बताए ।
संविधानलाई जीवित राख्नका लागि पनि चुनावमा सहभागी हुनुपर्ने आवश्यकता रहेकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जोड दिए ।







