काठमाडौँ । हाँडीगाउँस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको गहना पोखरीको पुनर्निर्माण कार्य हाल तीव्र गतिमा अगाडि बढिरहेको छ। काठमाडौँ महानगरपालिकाको पहलमा ‘सम्पदा क्षेत्र संरक्षण तथा शहरी विकास कार्यक्रम’ अन्तर्गत उक्त पोखरी तथा आसपासको क्षेत्र पुनर्निर्माण भइरहेको हो।
क्षमा पूजा सम्पन्न गरेपछि महानगरपालिकाको नेतृत्वमा पोखरी र वरपरको क्षेत्रलाई मौलिक स्वरूपमै पुनःनिर्माण गर्ने काम सुरु गरिएको हो। करिब ५२ देखि ५५ लाख रुपैयाँ लागतमा पोखरीलाई पुरानै शैलीमा पुनःनिर्माण गरिने जनाइएको छ।

पुनर्निर्माणसँगै क्षेत्रको समग्र सौन्दर्य र उपयोगिता बढाउने उद्देश्यले पैदलमार्ग केही फराकिलो बनाउने, ढुंगाका सिँढी (घाट) निर्माण गर्ने, बालमैत्री क्षेत्र विस्तार गर्ने र हरियाली बढाउने काम पनि भइरहेको छ। साथै, पर्यटकहरूलाई जानकारी र सहजीकरण गर्ने उद्देश्यले पर्यटक सहायता केन्द्र स्थापना गर्ने तयारी समेत गरिएको छ।

यस पुनर्निर्माण कार्यले हाँडीगाउँ क्षेत्रको ऐतिहासिक पहिचान जोगाउँदै स्थानीय बासिन्दा र पर्यटक दुवैका लागि आकर्षण बढाउने विश्वास गरिएको छ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी







