काठमाडौँ । ‘जेनजी’ प्रतिनिधि एवम् अगुवाहरूले समयमै चुनाव सम्पन्न गर्ने विषयमा आफूहरू सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलमा उनीहरुले समयमा चुनाव हुनुपर्ने राय राखेका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ‘जेनजी’ समूहका प्रतिनिधि खेमराज साउदले एमालेले संसद् पुनःस्थापनाबारे राय राखेपछि आफूहरूले त्यसको खण्डन गरेको बताए । संसद् पुनःस्थापना ‘जेनजी’ प्रदर्शनको उपलब्धि विपरीत हुने भनाइ राखेको उनले बताए। ‘समयमा चुनाव हुनुपर्ने धारणा राखेका छौँ । सरकार र जेनजी समयमा चुनाव सम्पन्न गराउन सकारात्मक छौँ । यसमा दलहरू पनि लाग्नपर्छ भनेर आग्रह गरिएको छ’, साउदले भने ।

बैठकमा अभियन्ता सागर ढकालले चुनाव निष्पक्ष, स्वतन्त्र र प्रविधिमैत्री बनाउन आफूहरूले सबै राजनीतिक दलसँग आग्रह गरेको बताए । उनले समयमा सुधारिएको चुनावसँगै भ्रष्टाचार विरुद्धको कारबाहीमा समेत सरकार केन्द्रित हुनुपर्ने विषय उठेको बताए।

ADVERTISEMENT

यस्तै, बैठकमा सहभागी एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले ‘जेनजी’ प्रतिनिधिले संसद् पुनःस्थापना भनेर नबस्न राजनीतिक दलसँग आग्रह गरेको बताए । उनका अनुसार जेनजी प्रतिनिधिले सबै राजनीतिक दललाई आउँदो चुनावमा सहभागी भई अघि बढ्न प्रस्ताव राखेको बताए।
बैठकमा चुनावका लागि अझै पनि वातावरण बन्न नसकेको आशङ्का केही दलबाट व्यक्त भएको पाण्डेको भनाइ थियो ।

ADVERTISEMENT