काठमाडौं। काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म व्यवस्थित र सुरक्षित साइकल लेन तथा फुटपाथ विस्तारको काम सुरु गरेको छ। यसअघि सडकमै हरियो रेखा कोरी छुट्याइएको साइकल लेन जोखिमपूर्ण र अव्यवहारिक भएको भन्दै महानगरले नयाँ ढाँचामा साइकल लेन निर्माण थालेको हो।

महानगरका अनुसार माइतीघरदेखि तीनकुने पुलसम्म करिब साढे दुई किलोमिटर सडक खण्डमा चौडा फुटपाथसँगै सुरक्षित साइकल लेन निर्माण गरिँदै छ। नयाँ संरचनाले पैदलयात्री र साइकल प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकता दिने उद्देश्य राखिएको छ।

ADVERTISEMENT

यस योजनाअन्तर्गत साइकल लेनलाई सवारी साधनको मुख्य लेनबाट स्पष्ट रूपमा अलग गरिएको छ, जसले दुर्घटनाको जोखिम कम गर्ने अपेक्षा गरिएको छ। साथै, पैदलयात्रीका लागि सहज र व्यवस्थित हिँडडुलको वातावरण निर्माण हुने महानगरको दाबी छ।

काठमाडौं महानगरपालिकाले हाल सुरु गरिएको यो योजना आगामी दिनमा अन्य मुख्य सडक खण्डहरूमा पनि विस्तार गरिने जानकारी दिएको छ। महानगरका अनुसार दिगो यातायात प्रणालीको विकास, वातावरण संरक्षण र नागरिकको सुरक्षित आवागमन सुनिश्चित गर्न यस्ता पूर्वाधार विस्तारलाई निरन्तरता दिइनेछ।

ADVERTISEMENT