काठमाडौं । काठमाडौं महानगरपालिका–५ मा अवस्थित ऐतिहासिक गहना पोखरीमा पुनर्निर्माण कार्य सुरु गरिएको छ। कार्तिक १८ गते क्षमा पूजा गरेर काम सुरु भएको हो ।

हाल पोखरी वरिपरि अस्थायी जस्ता राखेर ढाक्ने–छेक्ने तयारी भइरहेको छ भने पोखरीको पानी समेत निकास गरिएको छ। पोखरी वरिपरि जस्ता राख्ने तयारी पूरा भएपछि पुनःनिर्माण कार्य औपचारिक रूपमा पूर्ण रूपमा सुरु हुने तय गरिएको छ।

ADVERTISEMENT

यस अन्तर्गत वरिपरिका बारहरू हटाइने र सम्पूर्ण संरचना पुरानो शैलीमा पुनःनिर्माण गरिनेछ। करिब ५२ लाख रुपैयाँ लागतमा भइरहेको यो परियोजना काठमाडौं महानगरपालिकाको मातहतमा अघि बढाइएको हो।

ADVERTISEMENT

यस पुनर्निर्माणले गहना पोखरीलाई यसको प्राचीन स्वरूपमा फर्काउने र हाँडीगाउँको सांस्कृतिक पहिचानलाई पुनर्जीवित गर्ने लक्ष्य राखेको छ।

गहना खोज्ने जात्राका लागि प्रसिद्ध यो पोखरी एक समय आफ्नो अनौठो बनोटका कारण विशेष अनुभव दिने स्थल मानिन्थ्यो। पुरानो संरचनाअनुसार, पोखरीका किनारहरू तल र बीचभाग गहिरो बनाइएका थिए, जसले जात्रामा सहभागीहरूलाई बिस्तारै भिजाउँदै केन्द्रतिर लैजाने अनुभूति दिन्थ्यो।

पुनर्निर्माणपछि सो ऐतिहासिक डिजाइन पुनःस्थापित गरिनेछ। काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका अनुसार, यो परियोजना सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्जीवनका दृष्टिले अत्यन्तै महत्वपूर्ण छ। पुनर्निर्माणपछि पोखरी वरिपरि हरियाली क्षेत्र, बालमैत्री स्थान, फल्चा तथा परम्परागत पैदलमार्ग निर्माण गरिने योजना छ।

लोककथा अनुसार, गहना खोज्ने जात्रासँग सम्बन्धित यस पोखरीमा कहिल्यै ननिभ्ने आगो निस्कने झरना र सुनको बाकस देखिन्थ्यो। जसलाई निकाल्ने प्रयास गर्नेहरू पोखरीमै हराउने विश्वास छ। जनश्रुतिअनुसार, उक्त सुन भविष्यका बुद्ध मैत्रेयको मुकुटको गहना थियो, जसको रक्षा नागदेवताले गर्थे।

लिच्छवि कालीन नगर सभ्यताको केन्द्र मानिने हाँडीगाउँ आज पनि मन्दिर, चैत्य, विहार, मूर्तिहरू र पुरातात्त्विक अवशेषका कारण नेपालको सबैभन्दा पुरानो सांस्कृतिक स्थलमध्ये एकको रूपमा परिचित छ।