काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समयमै चुनाव सम्पन्न गराउन आयोग तयार रहेको बताएका छन।

नवनियुक्त गृह एवम् कानून न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै उहाँले आयोग समयमै चुनाव सम्पन्न गर्न तयार रहेको बताएका हुन् ।

ADVERTISEMENT

शान्ति सुरक्षा विना चुनाव सम्पन्न गर्न नसकिने स्थिति तर्फ सरकारको ध्यानाकर्षण गराउँदै उनले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न जरुरी रहेको बताए ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले छिट्टै अध्यादेश ल्याईदिएमा कानूनमा रहेका बाधाहरु हटेर मतदाता सङ्कलन लगायत कार्यसम्पादनमा सहज हुने बताए ।

ADVERTISEMENT

यस्तै गृह एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सरकारको मुख्य काम नै संसदीय चुनाव गराउनु रहेकोले चुनाव हुनेमा शङ्का नगर्न अनुरोध गरे ।

चुनाव गराउन नसके वर्तमान सरकार असफल हुने भन्दै उनले असफलताको धब्बा नबोक्ने बताए ।
उनले मतदाता नामावलीमा नाम दर्ता गराउने प्रक्रियाका कारण जेन जी समूह नै सहभागी हुन नपाउने पो हो कि भन्ने स्थिति पैदा भएको भन्दै विद्यमान कानूनी बाधा हटाएर उनीहरुलाई सहभागी गराउने बताए ।

यस्तै विदेशमा रहेका नेपालीहरुलाई मतदानमा सहभागी गराउन पनि अध्यादेश आवश्यक रहेको उनको भनाइ छ ।