काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका एक क्याप्टेनसँग गरेको विवादास्पद व्यवहारपछि प्रधानमन्त्री सचिवालयले उनलाई सचेत गराएको छ।
स्रोतका अनुसार सांसद पाण्डेलाई मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर सचिवालयका सदस्यहरूले सेनाप्रति देखाएको व्यवहार अनुचित भएको भन्दै सचेत गराएका हुन्। सो क्रममा प्रधानमन्त्रीले पनि उक्त घटनाप्रति चासो र असन्तुष्टि व्यक्त गरेको जानकारी उनलाई दिइएको बताइएको छ।
काठमाडौं क्षेत्र नम्बर–३ का सांसद पाण्डे सोमबार गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा बाटो विस्तार गर्न डोजरसहित पुगेका थिए। ट्रस्टको जग्गामा बाटो विस्तार रोक्न पुगेका नेपाली सेनाका अधिकारीसँग उनले चर्को स्वरमा विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
स्थानीयले लामो समयदेखि उक्त बाटो फराकिलो बनाउन माग गर्दै आए पनि नेपाल ट्रस्टको स्वामित्वमा रहेको जग्गाका कारण विस्तार हुन सकेको थिएन।
घटनापछि सांसद पाण्डेले सार्वजनिक रूपमा विज्ञप्ति जारी गर्दै आफ्नो व्यवहारप्रति स्पष्टीकरण दिएका छन्। स्रोतका अनुसार प्रधानमन्त्री सचिवालयको सुझावपछि उनले आत्मालोचनासहित सार्वजनिक धारणा व्यक्त गरेका हुन्।




