काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ३० दिन मात्रै बाँकी रहँदा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जनाको नाम हटाइएको छ । निर्वाचन आयोगले राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीको छानबिनपछि उक्त निर्णय गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंगलबार जारी गरेको विज्ञप्तिमा राजनीतिक दलबाट पेस गरिएका उम्मेदवारहरूको बन्दसूचीमाथि छानबिन गर्दा विभिन्न कारणले ७६ जनाको नाम हटाइएको उल्लेख छ ।

ADVERTISEMENT

प्रवक्ता भट्टराईका अनुसार समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा परेका उजुरी, प्रचलित कानुनले तोकेको उम्मेदवारको योग्यता तथा अयोग्यतासम्बन्धी व्यवस्था, आयोगबाट विभिन्न मितिमा भएका निर्णय तथा राजनीतिक दलबाट प्राप्त जानकारीका आधारमा उम्मेदवारहरूको विवरण रूजु गरिएको हो ।

नाम हटाइनेमध्ये नेपाली कांग्रेसबाट एक जना, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट एक जना र नेपाल कम्युनिष्ट पार्टीबाट तीन जना समानुपातिक उम्मेदवार रहेका छन् ।

ADVERTISEMENT

विज्ञप्तिअनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना, प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम कायम रहेका २५ जना, निर्वाचन आयोगले तोकेको जरिवाना भुक्तान नगरेका १० जना, दुई वर्ष उमेर पूरा नभएका चार जना, मतदाता नामावलीमा नाम समावेश नभएका एक जना र पिछडिएका क्षेत्रका मतदाता नामावलीमा नरहेका दुई जनाको नाम हटाइएको हो ।

यसैगरी, महिला उम्मेदवार पेस गर्नुपर्ने स्थानमा पुरुष उम्मेदवार पेस गरिएको कारण एक जनाको नाम हटाइएको छ भने सम्बन्धित राजनीतिक दलकै आग्रहमा १० जनाको नाम बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ । उल्लेखित कारणमध्ये एकभन्दा बढी कारण लागू भएका दुई जना पनि बन्दसूचीबाट हटाइएका छन् ।