काठमाडौं । कांग्रेसले घोषणापत्रलाई जनताले छिटो बुझ्ने गरी बुलेट शैलीमा ल्याउने भएको छ । सभापति गगन थापाको नेतृत्वमा निर्माण भइरहेको घोषणापत्र माघ अन्तिमसम्म ल्याउने गरी काम भइरहेको छ ।

घोषणापत्र लेखनमा संलग्न उपसभापति पुष्पा भुसालका अनुसार कांग्रेसले आर्थिक उन्नति, विकास–निर्माण, सामाजिक न्याय र जेन–जीका रूपान्तरणकारी मागलाई प्राथमिकतामा राख्नेछ । चुनावी घोषणापत्रमा भिजन १० उल्लेख गर्ने कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए । उनका अनुसार सबै नेपालीले स्वामित्व लिने गरी व्यावहारिक दृष्टि समेटेर घोषणापत्र ल्याउने गृहकार्य छ । उनले यसपटकको कांग्रेस घोषणापत्र छोटो र तथ्यपरक मात्र हुने जानकारी दिए ।

देशको आर्थिक उन्नति, विकास, निर्माण र समृद्धिका साथै जेन–जी पुस्ताका माग सम्बोधन गर्ने गरी घोषणापत्र तयार पार्ने जनाएको छ ।

अघिल्लो निर्वाचनमा ‘कोखदेखि शोकसम्म’जस्ता लोकप्रिय तर कार्यान्वयन हुन नसकेका नाराबाट पाठ सिक्दै कांग्रेसले यसपटक महत्वाकांक्षा घटाएर कार्यान्वयन बढाउने आन्तरिक निष्कर्ष निकालेको छ ।

कांग्रेस मिडिया सेन्टरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता चालिसेले माघ अन्तिम साताभित्र घोषणापत्र सार्वजनिक हुनेसमेत बताए । ‘हाम्रो चुनावी घोषणापत्रले मुलुकको यथार्थ अवस्थालाई प्रतिबिम्बित गर्दै सुशासन, विकास र व्यावहारिक कार्ययोजनालाई केन्द्रमा राख्नेछ,’ चालिसेले भने, ‘हाम्रो घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित रहनेछैन । त्यसको कार्यान्वयनका लागि आवश्यक स्रोत, साधन र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ ।’

परिवर्तनको मुद्दा, विकास निर्माण, समृद्धिको प्रतिबद्धता, कार्यान्वयन गर्ने रणनीतिका विषय घोषणापत्रमा समेट्ने तयारी भएको प्रवक्ता चालिसेले बताए ।