सुर्खेत । अत्यधिक हिमपातका कारण डोल्पामा दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्। शे–फोक्सुन्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने नुमला पास र वागला पास क्षेत्रमा उनीहरू सम्पर्कविहीन भएका हुन्।

डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाबाट शे–फोक्सुन्डो तालतर्फ आउँदै गरेका पर्यटकहरू हिमपातका कारण उच्च हिमाली क्षेत्रमा फसेको हुन सक्ने स्थानीय गाइडको अनुमान छ। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावले हिमाली क्षेत्रमा अत्यधिक हिमपात भएपछि उनीहरू जोखिममा परेका हुन्।

ADVERTISEMENT

स्थानीयवासीले हिमपातका कारण पास पार गर्न कठिन हुने भन्दै सचेत गराउँदासमेत पर्यटकहरू उक्त क्षेत्रमा गएको र फर्किने क्रममा हिउँमा फसेको हुन सक्ने बताइएको छ।

ADVERTISEMENT

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पर्यटकहरू धोबाट फोक्सुन्डो तालतर्फ फर्किने क्रममा सम्पर्कविहीन भएका हुन्। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको उनले बताइन्।

शे–फोक्सुन्डो गाउँपालिकाका अध्यक्ष धावा सम्दुक गुरुङका अनुसार वडा नम्बर ४ र ८ बीचका पास क्षेत्रमा मोबाइल फोनको नेटवर्कसमेत उपलब्ध छैन। सञ्चार सम्पर्क नहुँदा पर्यटकहरूको अवस्थाबारे जानकारी लिन कठिन भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार ६ जना भारतीय पर्यटक अझै सम्पर्कमा आएका छैनन्। उनीहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग माग गरिएको छ।

सम्पर्कविहीन हुनेमा दुई महिला र चार पुरुष रहेका छन्। प्रतिकूल मौसम, बाक्लो हिउँ र सञ्चार सम्पर्कको अभावले खोजी तथा उद्धारमा चुनौती थपिएको छ।

डोल्पामा २४४ पर्यटक

जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार हाल उपल्लो डोल्पामा २४४ जना पर्यटक पुगेका छन्। तीमध्ये १४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना अन्य विदेशी नागरिक छन्।

प्रतिकूल मौसमलाई ध्यानमा राख्दै प्रशासनले पर्यटकहरूलाई जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

गत आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा मात्रै ४ हजार ८८२ जनाले शे–फोक्सुन्डो तालको भ्रमण गरेका थिए।