काठमाडौं । नेपालका ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न २०० भन्दा बढी कन्टेन्ट क्रिएटर परिचालन गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ को पहलमा नेपाल पर्यटन बोर्डले यस्तो अभियान अघि बढाउन लागेको हो।
प्रविधिको तीव्र विस्तारसँगै नेपालको मौलिक संस्कृति, परम्परा र पर्यटकीय गन्तव्यलाई डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।
नेपाल पर्यटन बोर्डले २०० भन्दा बढी कन्टेन्ट क्रिएटरलाई देशका विभिन्न पर्यटकीय गन्तव्यमा पुर्याएर त्यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र मौलिक जीवनशैलीलाई अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउने लक्ष्य राखेको छ। खानपान, भेषभूषा, यात्रा, फोटोग्राफी, भिडियोग्राफी, कला, संस्कृति तथा जीवनशैलीलगायत विधामा सक्रिय क्रिएटर अभियानमा सहभागी हुनेछन्।
मन्त्री पौडेलले नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल प्लेटफर्म र सिर्जनशील युवाको भूमिका महत्त्वपूर्ण हुने बताउँदै आएका छन्। नयाँ तथा कम चिनिएका पर्यटकीय गन्तव्यसँगै नेपाली कला, संस्कृति, खानपान र जीवनशैलीलाई विश्वसामु चिनाउन कन्टेन्ट क्रिएटरको सहभागिता प्रभावकारी हुने उनको भनाइ छ।
मन्त्री पौडेलले यस अभियानलाई पर्यटन प्रवर्द्धनमा मात्र सीमित नराखी कन्टेन्ट क्रिएसनलाई सम्भावनायुक्त उद्योगका रूपमा विकास गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन्। यसबाट नयाँ प्रतिभाले सिर्जनशीलता प्रस्तुत गर्ने अवसर पाउनुका साथै रोजगारी, उद्यमशीलता र व्यावसायिक सम्भावना विस्तार हुने उनको विश्वास छ।
नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत डिजिटल पर्यटन प्रवर्द्धन, फोटो तथा भिडियो सामग्री उत्पादन, डिजिटल कन्टेन्ट बैंक निर्माण र कन्टेन्ट क्रिएटरसँगको सहकार्यलाई प्राथमिकतामा राखेको छ। सोही नीतिगत प्राथमिकता कार्यान्वयन गर्न विभिन्न विधाका २०० भन्दा बढी क्रिएटरलाई अभियानमा जोड्न लागिएको बोर्डले जनाएको छ।
अभियानअन्तर्गत क्रिएटरहरूले देशका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी आफ्नै सिर्जनात्मक शैलीमा फोटो, भिडियो तथा अन्य डिजिटल सामग्री उत्पादन गर्नेछन्। यसले स्थापित पर्यटकीय गन्तव्यको प्रचारसँगै ओझेलमा परेका सम्भावनायुक्त गन्तव्यको पहिचान र प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
परम्परागत पर्यटन प्रचार सामग्रीभन्दा फरक व्यक्तिगत अनुभव, स्थानीय कथा, संस्कृति, खानपान र जीवनशैलीमा आधारित सामग्रीमार्फत सम्भावित पर्यटकलाई नेपालसँग जोड्ने अभियानको उद्देश्य छ। डिजिटल प्लेटफर्ममा क्रिएटरहरूको पहुँच र प्रभाव उपयोग गर्दा नेपालको पर्यटनसम्बन्धी सूचना विभिन्न उमेर समूह र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।










