काठमाडौं। बाणिज्य बैंकहरुले पछिल्लो समय रियलस्टेट कर्जा घटाउँदै गएको देखिएपनि बिकास बैंक र फाईनान्स कम्पनीहरुले यस्तो कर्जा बढाउँदै गएका छन् । बैंक तथा फाईनान्स कम्पनीमा खराब कर्जा बढेको र गैर–बैंकिङ सम्पतीकोरुपमा सकार गरेको धितोपनि बिक्री हुन नसकेपछि बाणिज्य बैंकहरुले रियलस्टेट लोन घटाएका हुन । तर बिकास बैंक र फाईनान्स कम्पनीहरुले भने गत आर्थिक बर्षको पछिल्लो आठ महिनाको तुलनामा चालु आवको पछिल्लो आठ महिनामा रियलस्टेट कर्जा उल्लेख्यरुपमा बढाएको देखिएको छ । 

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो आठ महिनामा बैंकिङ क्षेत्रले कुल ५८ खर्ब चार अर्ब ४० करोड ७० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र कुल दुई खर्ब ६५ अर्ब सात करोड ९० लाख रुपैंयाँ कर्जा प्रवाह गरेको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा १४ अर्ब १० करोड रुपैंयाँले कम हो । गत आवको सोही अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुले ५४ खर्ब ५५ अर्र्ब ९७ करोड २० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र कुल दुई खर्ब ७९ अर्ब १७ करोड ९० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए । बाणिज्य बैंकहरुले मात्र चालु आवको पछिल्लो आठ महिनामा ५१ खर्ब ६१ खर्ब ६१ अर्ब ४३ करोड ३० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र कुल दुई खर्ब १४ अर्ब ९४ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा १९ अर्ब ९९ करोड ४० लाख रुपैंयाँले कम हो । गत आवको सोही अवधिमा बाणिज्य बैंकहरुले कुल ४८ खर्ब ४० अर्ब छ करोड रुपैंयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र कुल दुई खर्ब ३४ अर्ब ९४ करोड रुपैंयाँ कर्जा प्रवाह गरेका थिए । 

राष्ट्र बैंकका अनुसार बिकास बैंकहरुले मात्र चालु आवको पछिल्लो आठ महिनाको अवधिसम्ममा कुल पाँच खर्ब ३८ अर्ब ६७ करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र कुल ३८ अर्ब ४४ करोड रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा पाँच अर्ब ६६ करोड २० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बिकास बैंकहरुले कुल पाँच खर्ब १४ अर्ब २६ करोड ९० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र कुल ३२ अर्ब ७७ करोड ८० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए ।  

फाईनान्स कम्पनीहरुले मात्र भने चालु आवको पछिल्लो आठ महिनाको अवधिसम्ममा कुल एक खर्ब चार अर्ब ३० करोड ४० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र कुल ११ अर्ब ६९ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा २३ करोड २० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुले एक खर्ब एक अर्ब ६४ करोड ३० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र कुल ११ अर्ब ५६ करोड १० लाख रुपैंयाँ बराबरको कर्जा प्रवाह गरेका थिए ।  

बैंकिङ क्षेत्रको रियलस्टेटमा प्रवाह भएको कर्जा (रकम रु १० लाखमा)

(श्रोतः नेपाल राष्ट्र बैंक)