काठमाडौं । सातवटै प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेका छन् । खर्च बाँडफाँटका विषयमा विवाद र दलगत भागबण्डाबीच सोमबार मध्यराति अर्थात् राति ११ बजेर ५९ मिनेटभित्र सातै प्रदेशले आगामी आर्थिक वर्षका लागि कुल दुई खर्ब ९३ अर्ब ९६ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् ।
बजेट सार्वजनिक गर्ने विषयमा छ प्रदेशमा खासै विवाद नदेखिए पनि सुदूरपश्चिम प्रदेशमा भने खर्च बाँडफाँटका विषयमा कांग्रेस र एमालेबीच भागबण्डा नमिल्दा ठूलो विवाद उत्पन्न भएको थियो । सोही विवादका बाबजुद सुदूरपश्चिम प्रदेशले सोमबार राति ११ बजे चालु र पुँजीगत खर्चको सीमा निर्धारण नगरी आगामी आर्थिक वर्षका लागि कुल ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गर्यो । प्रदेशका आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले मध्यरातमा खर्चको सीमा नतोकी आगामी आवका लागि कुल बजेट प्रस्तुत गरेका थिए ।

सुदूरपश्चिम बाहेकका बाँकी छ प्रदेशले भने पुँजीगत खर्चलाई उच्च प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आर्थिक वर्ष २०८३/०८४ का लागि पुँजीगततर्फ ६५.६९ प्रतिशत र चालुतर्फ ३४.३१ प्रतिशत खर्चको सीमा निर्धारण गर्दै कुल ६७ अर्ब ९३ करोड रुपैयाँको बजेट ल्याएका छन् ।
यसैगरी, कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले चालुतर्फ ३४.५५ प्रतिशत र पुँजीगततर्फ ५१.३२ प्रतिशत खर्चको सीमा तोकेर आगामी आवका लागि ४० अर्ब ४४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जीतबहादुर शेरचनले चालुतर्फ ३८.५६ प्रतिशत र पुँजीगततर्फ ६०.६८ प्रतिशत खर्चको सीमा निर्धारण गर्दै आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ९९ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले चालुतर्फ २९.७३ प्रतिशत र पुँजीगततर्फ ६०.७७ प्रतिशत खर्चको सीमा तोकेर कुल ३७ अर्ब ३८ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् ।
मधेश प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री युवराज भट्टराईले चालुतर्फ ३५.६४ प्रतिशत र पुँजीगततर्फ ६४.३६ प्रतिशत खर्चको सीमा निर्धारण गर्दै आगामी आवका लागि ४१ अर्ब १३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले पनि आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चालुतर्फ २४.३० प्रतिशत र पुँजीगततर्फ ५८.६० प्रतिशत खर्चको सीमा तोकेर कुल ३५ अर्ब ३९ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।






