काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि यही संविधानभित्र खोज्न सकिने उनको विश्वास छ ।
संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्री देउवाले भनेका छन्, ‘संविधान मुलुकको सर्वोच्च कानून भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनु पर्दछ ।
यदि यसो हुन सकेन भने राजनैतिक स्थिरताको खोजीमा संविधान बाहिर जाँदा झन्झन् अस्थिरता निम्तिने सम्भावना रहन्छ ।’ उनले भनेका छन्, ‘वर्तमान संविधानको सफलतासँग हामीले देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प नै आज हामी सबैको साझा दायित्व हो ।’







