काठमाडौं । नेपाली कांग्रेसले कात्तिक १७ गते हुने रुपन्देही ३ र मनाङ प्रदेश २ को उपनिर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।
आइतबार कांग्रेस सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले मनाङमा हुने प्रदेश सभा उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । ‘उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ,’ बैठकपछि जारी कांग्रेस विज्ञप्तिमा भनिएको छ ।
उपनिर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सोसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।
कांग्रेस कार्यसम्पादन समितिको बैठकमा रुपन्देही ३ मा हुने उपनिर्वाचनमा सम्भावित उम्मेदवारबारे छलफल भएको नेताहरूको भनाइ छ । पूर्वगभर्नर डा.चिरञ्जीवी पौडेलले उम्मेदवार बन्ने इच्छा व्यक्त गरेको बुझिएको छ । विवादास्पद अभिव्यक्तिका कारण उनले राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक तथा परराष्ट्र सल्लाहकारबाट राजीनामा दिएका थिए ।








