काठमाडौँ। उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग कुनै ठूलो पदको बार्गेनिङ नगरेको स्पष्ट पारेका छन्। शनिबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपासँगको एकता प्रयासका क्रममा आफू पदभन्दा सहकार्यमा केन्द्रित रहेको बताएका हुन्।
घिसिङले अन्तिम समयसम्म पनि आफू रास्वपाको साधारण सदस्यका रूपमा समाहित हुन तयार रहेको दाबी गरे। “म उपाध्यक्षकै भूमिकामा, त्यो पनि वरीयतामा तल रहेर सहन तयार थिएँ,” उनले भने, “अन्तिम चरणमा त म साधारण सदस्य भएर बस्छु, केन्द्रीय समितिका साथीहरूको व्यवस्थापन मात्रै गरिन्छ भनेको थिएँ।” तर त्यसलाई समेत १२ दिनसम्म अल्झाएर राखिएको उनको आरोप छ।
उनका अनुसार एकता प्रक्रियाका ती १२ दिन उज्यालो नेपाल पार्टी र समर्थकहरूका लागि अत्यन्त पीडादायी बने। सहमति एकतर्फी रूपमा भंग गरिएको जानकारी आफूले मिडियामार्फत पाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। “हामी मौन बस्यौं, तर त्यो बीचमा उज्यालो नेपालका साथीहरूलाई लक्षित गर्दै पार्टी प्रवेश कार्यक्रमहरू चलाइए,” उनले भने, “यसले हाम्रो मनोबलमा गहिरो चोट पुर्यायो।”
घिसिङले शनिबारकै दिन उज्यालो नेपाल पार्टीको औपचारिक सदस्यता लिएको र केन्द्रीय समिति बैठकबाट अध्यक्षको जिम्मेवारी सम्हालेको जानकारी दिए। पार्टीलाई अब आफ्नो नेतृत्वमा देशव्यापी रूपमा सशक्त र प्रभावकारी बनाइने उनको प्रतिबद्धता छ।
यसैबीच, उज्यालो नेपाल पार्टीले रास्वपासँगको एकता औपचारिक रूपमा अन्त्य गर्दै आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्ने घोषणा गरेको छ। घिसिङले आफूले कहिल्यै प्रधानमन्त्री वा कुनै ठूलो पदको दाबी नगरेको दोहोर्याउँदै एकता तोड्नुको जिम्मेवारी रास्वपामाथि नै रहेको आरोप लगाए।
रास्वपासँगको सहकार्यबाट अलग भएर कुलमान घिसिङ आफैं राजनीतिक मैदानमा उत्रिएसँगै उज्यालो नेपाल पार्टीले अब स्वतन्त्र पहिचानसहित नयाँ राजनीतिक यात्राको सुरुवात गर्ने संकेत गरेको छ।