काठमाडौं । नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको छ। काठमाडौंमा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा बैंकलाई संस्थागत नायक (Bikash Nayak 2082 Award) का रूपमा सम्मान गरिएको हो।

आइतबार काठमाडौंमा आयोजित उक्त कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज ज्ञवालीलाई अवार्ड तथा सम्मानपत्र प्रदान गरेका थिए। बैंक तथा बीमा क्षेत्रसहित समग्र वित्तीय क्षेत्रमार्फत नेपालको आर्थिक विकासमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप नबिल बैंकलाई यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

चार दशकभन्दा बढी समयदेखि नबिल बैंकले वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन तथा प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानी गर्दै नेपाली बैंकिङ क्षेत्रको नेतृत्व गर्दै आएको छ। गुणस्तरीय वित्तीय सेवामा पहुँच विस्तार, देशव्यापी डिजिटल बैंकिङ सेवा, उद्यमशीलता प्रवद्र्धन, रोजगारी सिर्जना तथा राष्ट्रिय राजस्वमा दिएको योगदान बैंकका प्रमुख उपलब्धिका रूपमा उल्लेख गरिएको छ।

सम्मानप्रति प्रतिक्रिया दिँदै नबिल बैंकका सीइओ ज्ञवालीले ‘विकास नायक २०८२’ सम्मान नबिल बैंकका लागि गर्वको विषय भएको बताए। उनले यो सम्मान नबिल बैंकको चार दशक लामो राष्ट्रनिर्माण यात्राको सम्मानसमेत भएको उल्लेख गर्दै वित्तीय समावेशीकरण, डिजिटल बैंकिङ, ऊर्जा तथा पूर्वाधार विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्ने प्रतिबद्धता अझ सुदृढ भएको बताए।
नेपालको बैंकिङ रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै नबिल बैंक सन् १९८४ मा पहिलो संयुक्त लगानी बैंकका रूपमा स्थापना भएको थियो। पहिलो कम्प्युटराइज्ड बैंकको सुरुवात गर्दै बैंकिङ क्षेत्रमा नयाँ आयाम थपेको नबिल बैंकले एनबैंक एपसहितका डिजिटल सेवामार्फत समय, दूरी र लागत घटाउँदै सेवाबाट वञ्चित समुदायसम्म बैंकिङ सेवा विस्तार गरेको छ।

ऊर्जा तथा पूर्वाधार विकासमा पनि नबिल बैंक राष्ट्रिय अर्थतन्त्रको प्रमुख उत्प्रेरक रहँदै आएको छ। सन् १९९८ मा जलविद्युत् क्षेत्रमा लगानी गर्ने पहिलो वाणिज्य बैंक बनेको नबिलले हालसम्म करिब ७५ अर्ब रुपैयाँ बराबरको प्रतिबद्धतासहित ३,१०० मेगावाटभन्दा बढी ऊर्जा परियोजनामा वित्तीय सहयोग गरेको छ। जलविद्युत्, सौर्य तथा नवीकरणीय ऊर्जा, विद्युतीय सवारी र राष्ट्रिय गौरवका आयोजनामा बैंकले कन्सोर्टियम वित्तपोषणमार्फत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ।

राष्ट्रिय राजस्वमा समेत उल्लेखनीय योगदान पुर्‍याउँदै नबिल बैंक वित्तीय क्षेत्रकै आठ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भइसकेको छ। पारदर्शिता, सुशासन तथा औपचारिक अर्थतन्त्र प्रवद्र्धनमा बैंक निरन्तर प्रतिबद्ध रहेको बताइएको छ।

बैंकिङ सेवा मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि नबिल बैंक सक्रिय रहँदै आएको छ। विपद् प्रतिक्रिया, शिक्षा, स्वास्थ्य तथा वित्तीय साक्षरतामा योगदान गर्दै आएको बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिपमार्फत १९३ उद्यमलाई सहयोग गर्दै १७ हजारभन्दा बढी रोजगारी सिर्जनामा योगदान गरेको छ।

हाल नबिल बैंकले देशभर २६८ शाखा र ३२१ एटिएममार्फत २५ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ।विगत चार दशकदेखि नेपाली बैंकिङ क्षेत्रमा सेवा दिदै आएको नबिल बैंकले  नेपालको बैंकिङ विकासको इतिहासमा एक महत्वपूर्ण योगदान दिएको छ।