काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको भाटभटेनीको कोटेश्वरस्थित भवनको अवलोकन गरेका छन् । मंगलबार दिउँसो अर्थसचिवलाई लिएर उनी खन्डहर बनाइएको भवन अवलोकनका लागि पुगेका थिए ।
अर्थमन्त्री खनाललाई भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले स्वागत गरेका थिए । गुरुङले कोटेश्वर आउटलेटसँगै देशका विभिन्न शाखामा भएको तोडफोड, लुटपाट र आगजनीबारे जानकारी गराएका थिए ।
‘आज अर्थमन्त्री रामेश्वर खनाल हालैको आगलागीबाट प्रभावित हाम्रो कोटेश्वर शाखा अवलोकन गर्न आउनुभयो । उहाँको उपस्थितिले हामीलाई दृढता र हौसला मिलेको छ, जसले हामीलाई अझ सबल भएर अघि बढ्न प्रेरित गरेको छ,’ भाटभटेनीले सामाजिक सञ्जालमार्फत् भनेको छ, ‘भौतिक संरचना भत्किन सक्छ, तर भाटभटेनीको आत्मा कहिल्यै टुट्दैन। हामी अझ सबल भएर पुनःनिर्माण गर्नेछौं र नेपाली जनताको सेवामा निरन्तर प्रतिबद्ध रहनेछौं।’
भाटभटेनीका २७ वटा शाखामध्ये १२ वटा पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । १५ वटा हाल सञ्चालनमा छन् । भाटभटेनीका जलाइएका भवनको भग्नावशेषमा हालसम्म ११ जना शव फेला परिसकेको छ ।







