काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले शुक्रबारदेखि आफ्नो कुलिङ पिरियड सुरु भएको बताएका छन् । उनले आफ्नो कार्यकाल पूरा भएको जनाउ दिँदै कुलिङ पिरियडमा कसैले पनि आफ्नो नाम कतै ट्याग नगर्न आग्रह पनि गरेका छन् ।

‘आजदेखि कुलिङ अवधि सुरु हुन्छ। कृपया अब नाम(ट्याग गरिएको परीक्षण बेलुन नलगाउनुहोस्,’ मन्त्री खनालले सामाजिक सञ्जालमा लेखेका छन् ।

अर्थमन्त्री खनालले आजैदेखि मन्त्रालय नजाने मनस्थिति बनाएको बताइन्छ । निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाइसकेको र रास्वपाले बहुमतको सरकार बनाउन लागेकाले पनि अर्थमन्त्री खनाल सम्भवतः आइतबारदेखि मन्त्रालयको काममा नफर्किने भएका छन् ।

भोलि शनिबार सार्वजनिक बिदा भएको र आइतबारसम्म नयाँ अर्थमन्त्रीको नाम टुंगो लागिसक्ने भएकाले पनि अर्थमन्त्री खनालले सिंहदरबार नजाने भएका हुन् । नयाँ अर्थमन्त्री स्वर्णिम वाग्ले बन्ने निश्चित जस्तै छ । अर्थमन्त्री खनालले आफ्नो ६ महिने कार्यप्रगतिसमेत सार्वजनिक गरिसकेका छन् ।