काठमाडौँ। नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनमा पार्टीका सबै तहका सदस्यलाई सहभागी गराउने गरी सांगठनिक व्यवस्था मिलाउने निर्णय गरेको छ।
बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले सदस्यताको कारण देखाएर कुनै पनि सदस्य महाधिवेशन प्रक्रियाबाट वञ्चित हुन नपाउने बताए।
उनका अनुसार भदौ २८ गतेको बैठकले सदस्यता नवीकरण भएका तथा महाधिवेशन प्रक्रियामा जोडिएका सबै सदस्यलाई अधिवेशनमा सहभागी गराउने निर्णय गरिसकेको छ।
‘सदस्यताको नाममा अब कुनै पनि साथीहरू अधिवेशनबाट वञ्चित हुने अवस्था रहँदैन,’ चालिसेले भने। कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई समेत आगामी महाधिवेशनमा सक्रिय रूपमा सहभागी गराउने व्यवस्था गरेको जनाएको छ।
पार्टीले वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मका सबै तहमा सहभागितामूलक वातावरण निर्माण गर्ने बताएको छ। कांग्रेसको सार्वजनिक कार्यतालिकाअनुसार वडा अधिवेशन भदौ २४ गते, पालिका अधिवेशन भदौ २७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन भदौ ३१ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज ३ गते, जिल्ला अधिवेशन असोज ७ गते र प्रदेश अधिवेशन असोज १० गते गर्ने तय गरिएको छ। केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म हुने कार्यतालिका छ।
प्रवक्ता चालिसेका अनुसार बैठकमा पार्टीको समग्र एकता, संगठन सुदृढीकरण र राष्ट्र निर्माणमा कांग्रेसको भूमिकाबारे पनि छलफल भएको छ।
उनले १५औँ महाधिवेशनलाई ‘महोत्सव’का रूपमा सम्पन्न गर्ने गरी कार्यतालिकालाई व्यवस्थित बनाउँदै लगिएको बताए। उनका अनुसार पार्टीभित्र देखिएका प्राविधिक तथा व्यवस्थापकीय प्रश्न समाधान गर्दै सबै तहका अधिवेशन निर्धारित समयमै सम्पन्न गर्न आवश्यक निर्देशन दिइएको छ।
बैठकमा सहभागी नेताहरूले पार्टीको आगामी यात्रा र संगठन सुदृढीकरणका लागि सामूहिक प्रतिबद्धता जनाएको पनि प्रवक्ता चालिसेले जानकारी दिए।






